१९ अाैँ अन्तर्राष्ट्रिय युवा दिवस ः दार्चुलाबाट युवा पलायन बढ्दो 

६ बर्ष अघि

२0७५ श्रावण २८ सोमबार

१९ अाैँ अन्तर्राष्ट्रिय युवा दिवस ः दार्चुलाबाट युवा पलायन बढ्दो 

कृष्ण धामी, साउन २७ दार्चुला । आज साउन २७ गते, तद्अनुसार 12 अगस्त 2018   । १९ औँ अन्तर्राष्ट्रिय युवा दिवस । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने मूल नाराका साथ दार्चुला लगायत विश्व भरी मनाईएको छ । दार्चुला जिल्लामा जिल्ला युवा समिति, जिल्ला समन्वय समिति, महाकाली नगरपालिका र दार्चुला बहुमुखि क्याम्पसको आयोजनामा खूल्ला बक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको छ ।
यसका अतिरिक्त दार्चुला जिल्लामा बेलुकी खुल्ला मञ्चमा युवाहरुले दिवसको अवसरमा दिप प्रज्वलन गरी दिवस मनाईएको छ । जिल्ला सदरमुकाम क्षेत्रका युवाहरुको समुह मिलेर दिपावलीको आयोजना गरिएको हो ।


दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा मात्रै युवा विसको अवसरमा केही औपचारिक कार्यक्रम गरिएको भए पनि अन्य स्थानीय तहहरुमा युवा दिवसको अवसरमा कुनै कार्यक्रम गरिएका छैनन् ।
युवाको विकास यथास्थितिमै 
परिवर्तनको सम्वाहक र देशको मेरुदण्डको रुपमा मानिएको युवा जमातमा धेरै किसिमका चुनौती र अप्ठेराहरु कयैन छन् । युवा जनशक्ति नहुँदा जुनसुकै परिवर्तनलाई कार्यान्वयन गर्न चुनौती त त्यसै भईहाल्छ । संघिय संरचनामा मुलुक अगाडी बढिरहेको बेला पहिले देखिकै समस्याको रुपमा रहेको बेरोजगारी झन विकराल बन्दै गएको छ ।
फाट्ट फुट्ट बाहेक रोजगारी सिर्जना र युवाशक्तिकै लागि भनेर कुनै ठाउँमा पनि देखिने गरी परिवर्तन नभएको दार्चुलाका युवाहरुले बताएका छन् । यसै अनुरुप युवाहरुलाई विदेश पलायन बाट रोक्नका लागि आफ्नै ठाउँमा रोजगारी सहितको युवा व्यवस्थापन र सुरक्षित वातारण सहितको स्थान युवाका लागि छुट्याइनु पर्नेमा सम्बन्धित पक्षसँग दार्चुला युथ भ्वाइसले आवाज उठाएका छन् ।
दार्चुलाबाट एक बर्षमा हजाराैँ युवा बाहिरिए
मुख्य कारण रोजगारी तथा अध्ययन, भ्रमण र अन्य प्रयोजनले गएको आर्थिक बर्ष २०७४÷७५ मा दार्चुलाबाट बिदेश जानको संख्या एक हजार भन्दा बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको राहदानी विभागको तथ्याङ्क अनुसार द्रुत सेवामा राहदानी विभाग बाट राहदानी लिनेहरुमा महिला ५६ पुरुष ६९० गरी ७ सय ६१ जना रहेका छन् भने जिल्लाबाटै राहदानी बनाउनेहरुमा महिला १६ जना पुरुष १ सय ८२ गरी १ सय ९८ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस बाहेक सीमा प्रशासन कार्यालय दार्चुलाबाट चीन जाने प्रयोजनका लागि ५ सय २५ जनालाई बहुयात्रा अनुमती पत्र वितरण गरिएको सीमा प्रशासन कार्यालयले जनाएको छ । यसरी हेर्दा विदेशीनेहरुमा अधिकाँश प्राय युवा नै रहेका छन् ।