अपि हिमालमा एक घर एक धारा खानेपानी योजना बन्दै

३ बर्ष अघि

२0७८ बैशाख २८ मंगलवार

अपि हिमालमा एक घर एक धारा खानेपानी योजना बन्दै

दार्चुला । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा एक घर एक धारा खानेपानी निर्माण भइरहेको छ । संविधानले व्यवस्था गरेको सबैको घरधुरीमा स्वच्छ पानीको पहुँच हुने छ भन्ने गरेको व्यवस्था अनुसार हरेक घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा अपिहिमाल गाउँपालिकाका सबै वडाका घरधुरीमा खानेपानी निर्माण भइरहेका छन् । खानेपानी निर्माणमा स्थानीयको सक्रिय सहभागिता रहेको छ । पछिल्लो समय खानेपानी योजना सञ्चालन भइरहेको अपिहिमाल गाउँपालिका २ मा सञ्चालन भइरहेका छन् । स्थानीय कहरसिह कार्की अहिले दिनहुँ खानेपानी निर्माणमा सक्रिय हुनुहुन्छ । घर घरमा खानेपानी बन्ने भएपछि सबै गाउँका सक्रिय भएर लागेका छौ ।  अहिले खानेपानीका ट्यांकी निर्माणका काम जुटेका छौं, उहाँले भन्नुभयो । विगतमा पनि खानेपानी योजना सञ्चालन भएका थिए । तर अहिले हरेक घरधुरीमा पानी पुग्ने भए पछि स्थानीय खुसी भएका छन् ।  ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका अनुसार अहिले अपिहिमाल गाउँपालिकाको पाथा कसौतीमा ५५ धारा, कालीदेवी मरखोलामा ३७ धारा, घुसामा १५० धारा, दैभातमा ३७ धारा, सिती भट्टारमा ७९ धारा, खिर्सा सभ्भाडमा ४७ धारा र काटै क्षेत्रमा ८१ वटा धारा निर्माणाधीन छन् ।  ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण खण्डेश्वरीका जलस्रोत सल्लाहकार मनोरथ जोशीका अनुसार यसअघि परियोजना अन्तर्गत कुरमुल खानेपानी अन्तर्गत १५९ धारा, झुस्कु चौडमा २३ धारा र खत्तोलीमा २७ धारा निर्माण गरिएका छन् । यस्तै वडा नम्बर ५ को तिम्लामा ५० तथा लुम्थीमा ४८ वटा खानेपानी धारा प्रयोगमा आइसकेका छन् ।  परियोजनाले एक वर्षभित्रै अपिहिमालका सबै घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यअनुसार काम गरिरहेको जलस्रोत सल्लाहकार जोशीको भनाई छ ।