काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् । मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे । प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल(खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए । यसअघि प्रतिनिधिसभा बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको थियो। त्यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए । मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।