दार्चुलामा परीक्षण नगरी सिधै घर पठाउँदा गाउँमा जोखिम बढ्यो

३ बर्ष अघि

२0७८ बैशाख २६ आईतवार

दार्चुलामा परीक्षण नगरी सिधै घर पठाउँदा गाउँमा जोखिम बढ्यो

दार्चुला । भारतसित सीमा जोडिएको दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षण गरेर सोझै घर पठाउने गरिएको छ । एन्टिजेन परीक्षणबाट कोरोना पोजिटिभ देखिएकालाई अक्सिजनको मात्रा कम भएमात्र जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।  कोरोना पोजिटिभका सामान्य अवस्थाका संक्रमितलाई भने घरमै आइसोलेसन बस्न सल्लाह दिएर स्वास्थ्यकर्मीले पठाउने गरेका छन् । जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भारतबाट आउने जतिको पुलघाटमा एन्टिजेन परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, केही स्वास्थ्य समस्या आए अस्पताल र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनी सम्झाएर घर पठाइँदै छ । सामान्य समस्या आए पनि १० दिन घरमा अलगै बस्न सुझाइएको र पालिकाहरूलाई निगरानी राख्न भनिरहेको उहाँले बताउनुभयो । एन्टिजेनमा पोजिटिभ आएपछि हेल्थ डेस्कले सम्बन्धित स्थानीय तहलाई संक्रमित जिम्मा लगाउने गरिएको हो । सबै स्थानीय तहमा कोरोना उपचार अस्पताल र आइसोलेसन वार्ड तयारी नभएकाले घर पठाउँदा कोरोना संक्रमण फैलिने सम्भावना अधिक रहेको स्वास्थ्यकर्मी बताउँछन् । तीव्र गतिमा संक्रमण बढिरहेको भारतबाट फर्केका नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न नसकेकाले संक्रमण फैलिएको चिकित्सकको भनाइ छ । अहिले क्वारेन्टाइन र आइसोलेसन नभएकाले संक्रमितलाई राख्न नसकिएको स्थानीय तहले जनाएका छन् । महाकाली नगरपालिकाका स्वास्थ्यकर्मी मोहन महराले भारतबाट फर्केका नेपालीलाई क्वारेन्टाइनमा नराखेकाले संक्रमितको संख्या जिल्लाभरि ह्वात्तै बढेको बताउनुभयो । अझै पनि भारतबाट आएकाहरू सोझै घर जाने गरेका छन्, उनीहरूलाई क्वारेन्टाइनमा राख्ने तयारी नहुनु दुर्भाग्य हो, उहाँले भन्नुभयो, यसले गाउँमा संक्रमण बढाउने सम्भावना धेरै छ  । भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरे पनि नेपालकै कोरोना प्रभावित ठाउँबाट आएका मानिसलाई परीक्षण नगरिकनै घर पठाइरहेका छन् । शनिबार मात्र शैल्यशिखर–८ मा ३५ विद्यार्थी महेन्द्रनगरबाट परीक्षण नगरी सोझै घर गएका छन् । महेन्द्रनगर सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी कोरोना प्रभावित ठाउँ हो । भारतबाट सबैभन्दा बढी महेन्द्रनगरको गड्डाचौकी नाका हुँदै सुदूरपश्चिमका स्वदेश प्रवेश गर्छन् । कोरोनाको प्रभाव बढिरहेकै ठाउँबाट आएका मानिसलाई परीक्षण नै नगराई घर पठाइएको स्थानीयले गुनासो गरेका छन् । कोठा भाडामा बस्ने अधिकांश विद्यार्थी भए पनि प्रभावित ठाउँबाट आएका हुनाले परीक्षण हुनुपर्ने स्थानीय सहदेव बिष्टको भनाइ छ । स्थानीय तहले अझै क्वारेन्टाइनको व्यवस्था नगरेकाले समुदाय स्तरमा संक्रमण फैलिँदै गएको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थीले बताउनुभयो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ अझै हुन नसक्नु स्थानीय तह र स्वास्थ्य कार्यालयको कमजोरी रहेको उहाँको भनाइ छ । होम आइसोलेसनमा बसेकालाई बेवास्ता गरिँदा मृत्यु हुनेको संख्या बढ्दै छ, उहाँले भन्नुभयो । आइतबारसम्म दार्चुलामा मात्रै चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
कान्तिपुरबाट