गोकुलेश्वरमा थप एक कोरोना संक्रमितको मृत्यु,

३ बर्ष अघि

२0७८ बैशाख २६ आईतवार

गोकुलेश्वरमा थप एक कोरोना संक्रमितको मृत्यु,

दार्चुला बैशाख २६ । गोकुलेश्वरमा शनिबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घर भएका ७२ वर्षीय पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो । डाक्टर अन्सारीले भन्नुभयो, शनिबार राती ९ बजेर ३५ मिनेटमा नौगाडका एक ७२ वर्षीय पुरुषलाई आफन्तहरुले अस्पताल पुर्याएका थिए, उहाँको गोकुलेश्वर अस्पताल पुर्याएको ५ मिनेट पछि अर्थात ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो । अहिले शव पोष्टमाटमको तयारी भइरहेको डाक्टर अन्सारीले बताउनुभयो । मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । गाउँमा पशल सञ्चालन गर्दै आउनुभएका संक्रमित पुरुषको भारतबाट फर्किएकाहरुसंग भेटघाट हुने गरेको आफन्तहरुले बताएका छन् । कोरोनाको लक्षण पनि देखिएकोले शरीरमा अक्सिजनको मात्रा कम भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शवको व्यवस्थापनका विषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसंग छलफल भइरहेको डाक्टर अन्सारीले जानकारी दिनुभयो । हालसम्म दार्चुलाका तीन जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका अधिकासं बिरामीहरु लक्षणसहितका भएकोले उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।