महङ्गी बढेको गुनासो पछि बजार अनुगमन

३ बर्ष अघि

२0७८ बैशाख २२ बुधबार

महङ्गी बढेको गुनासो पछि बजार अनुगमन

बैशाख २२ दार्चुला । जिल्ला सदरमुकाम खलंगामा कृत्रिम अभाव गराएर महंगी बढाएको भन्दै आलोचना भए पछि बुधबार बजार अनुगमन गरिएको छ । महाकाली नगरपालिकामा बैशाख २५ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा जारी गरिएको बेला बजारमा समान अभाव देखाएर महंगी बढाएको गुनासो पछि बजार अनुगमन गरिएको हो । बजार अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्सना भट्ट जोशीको नेतृत्वमा खलंगा बजार अनुगमन गरिएको छ । अनुगमन टोलीले मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ल्ला अधिकारी जोशीले जानकारी दिनु भएको छ । निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ भट्ट जोशीले बताउनुभयो । अनुगमन गरेका अधिकाशं पसलहरुमा मूल्य सूची नराखेको पाइएको छ । दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएकामा अधिकाशं पसलेहरुले मूल्य सूचि नराखेको पाइएको हो । अनुगमनका क्रममा हामीले जतिसक्दो चाडो पसलहरुमा मूल्य सूची राख्न भनेका छौं जोशीले भन्नुभयो । दैनिक उपभोग्य वस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य वृद्धि गराएको पाइए कारवाही गरिने चेतावनी दिइएको छ ।  निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणहरुलाई व्यापारीहरुले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ । बुधबार महाकाली नगरपालिका वाड नम्बर ४ स्थित खलंगा बजार क्षेत्र तथा बंगाबगड बजार क्षेत्रहरुको अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुगमनमा प्रशासनसहित उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ दार्चुला नगरपालिका तथा  सुरक्षा निकायको सहभागिता रहेको थियो ।