भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २२ बुधबार

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु

काठमाडौँ बैशाख २२ ।  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ छ । यस्तै त्यहाँ एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।