भारतमा कोरोना संक्रमितको संख्या दुई करोड भन्दा बढी

३ बर्ष अघि

२0७८ बैशाख २१ मंगलवार

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड भन्दा बढी

काठमाडौ बैशाख २० । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोड भन्दा माथि पुगेको छ । पछिल्लो  २४ घण्टामा  तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसंगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मगलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ । भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ । अस्पतालमा शय्या तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने सङ्क्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । १८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।