अध्ययन,अनुसन्धान र संरक्षणको पखाईमा ऐतिहासिक उकु दरवार

६ बर्ष अघि

२0७५ श्रावण २६ शनिबार

अध्ययन,अनुसन्धान र संरक्षणको पखाईमा ऐतिहासिक उकु दरवार

प्रकाश चन्द्र मिश्र,
लेखक शंकरपुर निवासी समाजिक अध्यनकर्ता हुन ।

दार्चुला जिल्लाको महाकाली किनारमा अवस्थित उकु एउटा ऐतिहासिक स्थल हो । यो मध्यकालिन कत्युरी राजाहरुको राजधानी थियो भन्ने गरिन्छ । यो ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु,ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु,विभिन्न आकृतिका ढुगांहरुले दर्शाइ रहेकैै छ । दार्चुला जिल्ला मध्यकालिन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गर्छ । उकुको ऐतिहासिक सम्वन्ध सिमावर्ती भारतको अस्कोटसंग छ । अस्कोटको ईतिहास अनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानी बाट अस्कोट आएका थिए  र अभयपालले वरपरका विभिन्न अस्सि वटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाकरण गरे । पाल राजाहरुलाई रजवार भन्ने  गरिन्छ ।  बाह्र वटा भिन्न राजाहरुको प्रमुख राजालाई रजवार भन्ने गरिन्थ्यो । दार्चुला कै देथलाको पाल राज्य पनि  यो बाह्र राजाहरुमा सम्मिलित थियो भन्ने वुझिन्छ ।


प्रमाणिक रुपमा भन्नु पर्दा रजबार भारती पाल उकुका राजा थिए । इतिहास अध्ययनका क्रममा भेटिएको सन् १३९४ र सन् १४२० को ऐतिहासिक ताम्र पत्रले रजबार भारती पालको शासनलाई प्रमाणीत गर्छ । सन् १४२० को सिलोनी ताम्र पत्रले भारती पाललाई उकुको राजा भएको प्रष्ट पारेको छ । रजबार भारती पाल शाके  १३१६ ( सन् १३९४ ) को  ताम्रपत्रले नाग मल्ल र विक्रम पाल लाई पुर्ववर्ति राजा मानेको छ । निरै पालाको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट, र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । सिरा (डिडिहाट) मा निरैपालदेवको सन् १३५३ बत्युली ताम्र पत्र  भेटिएको छ , र अल्मोडाको पहाडमा निरैपाल लेखिएको सन् १३५४ को ऐतिहासिक ढुगां भेटिएको थियो यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले निरै पालको ऐतिहासिकता र राज्य काल  बारे शंका गर्ने ठाउँ छैन । । निरै पाललाइ उकु(अस्कोटका राजा भनिएको छ ।  विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ र जसको केन्द्र महकाली किनारमा अवस्थि उकू भएको कारणले यो स्थिलको पुरातात्विक महत्वलाई वेवास्त गर्न सकिन्न । निरै पाललाई उकुका रजबार भारती पालका पुर्ववर्ति राजवार थिए भन्ने काल क्रमहरु प्रष्ट पारेको छ  । नेपाली इतिहासमा उपलब्ध तथ्य अनुुसार नाग पाल वा नाग मल्ल निरै पालको पुत्र थिए । 


उकुको ईतिहास सम्वन्धि एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तिन वटा रानीहरुले निर्माण गराएको हुनु्  भन्ने उल्लेख पाइन्छ । नाग पालका ती रानीहरुको नाम वेतल्देवी, सोमल्लदेवी, र लोमल्लदेवी थिए । नाग पाल राजा भएपछि नाग पालको वाट नाग मल्ल बनेको इतिहासमा उल्लेख छ । नाग मल्ल डोटीका राजा थिए र यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म  रहेको थियो । यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको  उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको हुनुपर्छ । मन्दिर स्थापना बारेको स्पष्ट तिथी मिती भने नेपालको ईतिहासमा पाइदैन । तर पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभयपालले स्थापना गरेको नभएर नाग मल्लले गरेका बताएका छन् । यसको सुस्पष्ट प्रमाणको रुपमा शाके ११६० (सन् १२३८) को उकुको शिलालेख हो भनिएको छ । अजमेरुकोटमा भेटिएको  राजा नाग मल्ल (पाल)  अभिलेख र उकुको शिलालेखमा उल्लेख नाग मल्लको कालक्रममा  १५० वर्ष भन्दा वढीको अन्तर देखिन्छ । यी दुवै जना एउटै व्यक्त होइनन् भन्ने यसबाट प्रष्ट हुन्छ । त्यसैले विभिन्न समयमा निमांण भएका यहाँ पाइने ऐतिहासिक संरचना, र वस्तुहरु यो विगतको इतिहासमा एउटा गुल्जार नगर भएको वुझिन्छ ।
भारतको उत्तराखण्ड राज्यको कुमाउ मण्डल संग हाम्रो सिमाना जोडिएको छ ,उत्तराखण्डमा कत्युरी सामराज्य थियो भन्ने कुरा ईतिहासहरुले पुष्टि गरेको छन । हाम्रो तत्कालिन डोटि राज्यमा पनि कत्युरी सामराज्यको प्रभाव परेको देखिन्छ किनकि कुमाउ मा भेटिएका पुरातात्वि महत्वका संरचना र डोटि राजय अन्तरगत भेटिएका अजमेरु कोट,उकु मन्दिरको निर्माण प्रक्रिया एकै प्रकारको रहेको छ । कुमाउमा यस्ता अनगिन्ति पुरातात्विक महत्वका क्षेत्रहरु भेटिएका छन जस्ले पनि यो मन्दिर पनि   ११ औं शताव्दि तिर  निर्माण भएको थियो भन्ने कुरा आकलन गर्न सकिन्छ । भन्ने कुरा विभिन्न समयमा लेखिईएका पुस्तकहरुले देखाएका छन तर आचार्य शिव प्रशाद डवरालका उत्तराखण्डका ईतिहास भन्ने पुस्तकमा १०८० देखि ९० ईसा पुर्वमा निर्माण भएको कुरा उल्लेख गरिएको छ । यस्तै प्रकारका मन्दिरहरु अल्मोरा कटारमलको सुर्य मन्दिर,अल्मोडा कै जागेश्वर मन्दिर,चम्पावतको वालेश्वर मन्दिरहरुको निर्माण संरचना एकै प्रकारको देखिन्छ । ४५ वटा ठुला साना मन्दिर भएको अल्मोराको कटारमल सुर्य मन्दिरको विषयमा राहुल साकृत्यायन ले आफ्नो मेरी जिवन यात्रा नामक पुस्तकमा मुक्त कण्ठले  प्रसंसा गरेका छन । 


हाम्रो दार्चुला जिल्लामा रहेका प्राचिन पुरातात्विक महत्वका क्षेत्रको गहन अध्ययन अनुसन्धान हुन सकेको छैन संरक्षण र व्यवस्थापनको अभावमा दिन प्र्तिदिन संकटमा पर्दै गईरहेका छन । यस उकु दरवारको योगि नरहरी नाथले पहिलो अध्ययन गरेका थिए उनले आफ्नो ईतिहास प्रकाशमा सन्धि पत्र संग्रह भन्ने पुस्तकमा केहि यस वारेका तथ्यहरु उल्लेख गरेका छन जसमा नागपाल राजाले आफ्ना रानीहरुको सुन्दरताको विषयमा वखान गरेको कुरा उल्लेख गरेका छन उनले अध्ययन गरेको शिलालेख अहिले संरक्षणको अभावमा मेटिदै गएको छ र आजभोलि पढ्ने सकिने अवस्थामा रहेको छैन । उनले उक्त शिलालेखको लिपि रंन्जना लिपि भएको भनि उल्लेख गरेका छन । नेपाल पुरातत्व विभागका पुरातत्व अधिकृत नव राज अधिकारीले २०६३।०६४ मा दार्चुलामा पुरातात्विक अध्ययन गर्दा वहाले वोहरीगाउँ गाविसको देवलको मन्दिरको भग्नावशेष,खरखडा गाविसको देवल र शिलालेख र उकु गाविसको दरवारको विषयमा अध्ययन गरेको थिए,उक्त अध्ययन पश्चात उकु मन्दिरको भग्नावशेष लाई क वर्गको साईटमा वर्गिकरण गरेको छ । वहाँको अध्ययन प्रतिवेदनमा उकु मन्दिरका केहि खम्वाहरुमा ध्यान मुद्रामा रहेको भगवान वुुद्धको चित्र कुदिएको पाईएको छ जस्ले त्यो वेलामा कत्युरी राज्य र डोटि राज्यमा वुद्ध र शैव दुवै प्रति समान सद्भाव राख्ने र मान्ने गरेको देखिन्छ । उकु दरवारमा विशेष गरि भगवान विष्णु,भगवान शिव का मुर्तिहरु कुदिएका छन । उकु दरवार कै विषयमा केहि तथ्यहरु अधिवत्ता दयाकृष्ण पन्त द्धारा लिखित दार्चुलाको ईतिहास भन्ने पुस्तकमा उल्लेख गरिएका छन । यि पुरातात्विक महत्वका साईटहरुको गहन अध्ययन र उत्खनन् गर्न सके यस्ले दार्चुला जिल्लाको छुट्टै ऐतिहासिक पहिचान स्थापित गर्ने देखिन्छ र भोलि पर्यटकिय क्षेत्रहरु वन्ने सम्भावना र भविष्यको पिडिका लागि मार्गदर्शक हुने देखिन्छ ।


कुमाउँ विश्व विश्व विद्यालय ईतिहास विभागका शोधार्थी  श्रीमती विश्नाको शोध ग्रन्थमा उल्लेख भए अनुशार जौलजीवी काली र गोरी नदीको संगम हो जहाँ प्राचिन शिव मन्दिर रहेको थियो जस्को खण्डहर भग्नावशेष दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिकाको वार्ड नं. ७ उकुमा रहेको छ जुन जौलजीवी वाट १ घण्टाको दुरीमा काली नदीको तटमा रहेको छ । उकु तत्कालिन पाल रियासत पनि हो । स्कण्द पुराणमा वर्णन गरे अनुशार कैलास मानसरोवर जाने यात्रिहरुले काली गोरीको संगमा स्नान गरेर उक्त प्राचिन शिव मन्दिरमा पुजाअर्चना गरी कैलास मानसरोवर यात्राको लागि अगाडी वढ्थे । यस्कारण पनि मंसिर महिनाको सक्रान्तिका दिन काली र गोरी नदीको संगममा स्नान गरी शिव मन्दिरमा पुजाआजा गरेर  मेलाको शुभ आरम्भ गरिन्छ तर जुन मन्दिरमा पौराणिक समयमा पुजाआजा गरिन्थ्यो उक्त मन्दिरमा आजभोलि गरिदैन किन  कि  त्यो मन्दिर नेपालमा पर्दछ त्यसको भग्नावशेष मात्रै रहेको छ । त्यस मन्दिरका विषयमा हाल सम्म नेपाल सरकारका तर्फ वाट अध्ययन अनुसन्धान उत्खनन् र पुर्ननिर्माण हुन सकेको छैन ।
हिमालयन डिस्कभरका का वरिष्ठ पत्रकार मनोज ईष्टवालको अध्ययन अनुशार गाल्ज्यू देवताका पिता राजा झलराईको उकु महल हो भनेर उल्लेख गरेका छन । गोल्ज्यु जन्मा यहि महलमा भएको थियो र नेपालमा वहाँ लाई हुनैनाथ भनेर पुकारीन्छ । मनोज ईष्टवालका अनुशार यहाँका ढुँगाका मुर्तिरु र यहाँ प्रयोग गरिएका ढुँगाहरु अल्मोडाको  जागेश्वर मन्दिर समुह र केदार नाथ मन्दिरको जस्तै रहेका छन ।

यहाँ विशेष विष्णु,महेश र लक्ष्मिका मुर्तिहरु कुँदिएका छन । यस्को ईतिहास कति वर्ष पुरानो भनेर कठिन छ तर यहाँका ढुँगाहरुको तुलना अन्य क्षेत्र सँग गर्दा ५००० हजार वर्ष पुरानो हुन सक्छ भनेर अनुमान लगाउन सकिन्छ भन्ने कुरा लेखेका छन । यहाँ गाउँको वनौट र पाल रजवारहरुको रहनसहन हेर्दा कत्युरी राज्यकाल पुर्वका रजवार पालवंशले उकु वाटै ईस्लामावाद सम्म शासन गरेका हुन सक्छन भनरे उल्लेख गरेका छन । यहाँ भएका शिलालेखहरु ऋहिले पढ्न सक्ने अवस्थामा रहेका छैनन् र केहि माटो भित्र पुरीएको टुटफुट मेटिएका भएको अवस्थामा रहेका छन । उत्तराखण्डमा गोल्ज्यू लाई न्यायका देवता मान्छन  भने नेपालमा हुनैनाथ लाई न्यायका देवता मान्छन, हुनैनाथको वाहन घोडा हो भने हुनैनाथ खड्ग धारी हुन भनेर उल्लेख गरेका छन । वहाँको अध्ययन अनुशार यस महल लाई ढोका विर र साटन भड्ड ले एकै रातमा वनाएका थिए र उनिहरु अस्कोट पालराज्यको चमलेख क्षेत्रका वासिन्दा थिए भन्ने किवदन्ति रहेको छ । यो महल गोरिल देवतामा दादा हलराईझलराई का वंशजको किल्ला हो र हाल सम्म यहाँ भएका शिलालेख र यो पुरातात्वि साईटको विस्तृत अध्धयन अनुसन्धान हुन सकेको छैन उनले यो कुरा उक्तराखण्ड र उकु क्षेत्रको एक वर्ष लामो कठिन अध्ययन अनुसन्धानको सफलता पश्चात सार्वजनिक गरेका हुन......................।

उकु महलमा रहेकाे सिलालेख । तर यसमा कुनै अक्षर अाँखाले देख्न सकिने अवस्थामा छैनन् ।