दार्चुलाका छ स्थानीय तहमा निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७८ बैशाख २0 सोमबार

दार्चुलाका छ स्थानीय तहमा निषेधाज्ञा जारी

दार्चुला बैशाख २० । दार्चुला जिल्लाका लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पनि सोमबार आज देखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
लेकम गाउँपालिकामा बैशाख २० गते बिहान ६ बजेदेखि वैशाख २९ बेलुकी ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । लेकम गाउँपालिकाको विभिन्न क्षेत्रमा एन्टिजेन परीक्षणबाट १० जनामा कोरोना पुष्टि भएपछि संक्रमण तिब्र रुपमा फैलिनबाट रोकथाम गर्न गाउँपालिकाको सिफरिसमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको मालिकार्जुन भित्र पनि नयाँ भेरियन्ट सहितको कोरोना भाइसरका संक्रमित थपिन थालेपछि गाउँपालिकाभरी निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन तथा नियन्त्रण समितिको सिफारिसमा गाउँपालिका भरि बैशाख २० गते सोमबार विहान ६ बजे देखि बैशाख ३१ गते बेलुकी ६ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । निषेधाज्ञा अवधिभर गाउँपालिका भित्रका अत्यावश्यक सेवा, खाद्यान्न र ओषधी पसल बाहेक सम्पुर्ण बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाईएमा संक्रामक रोग एन २०२० अनुसार कार्वाही गरिने प्रशासनले जनाएको छ । लेकम र मालिकार्जुनमा निषेधाज्ञा जारी भएसंगै दार्चुलाका निषेधाज्ञा जारी हुने पालिकाको संख्या ६ पुगेको छ । यस अघि जिल्लाको मार्मा गाउँपालिका, महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र व्याँस गाउँपालिकाको वडा नम्बर ६ मा निषेधाज्ञा जारी गरिएको छ । दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता १३ स्वास्थ्यकर्मी सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जिल्लाभरी ६७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । समुदाय स्तरमा समेत कोरोना संक्रमणको दोस्रो लहर तिब्रगतिमा फैलिन थालेपछि कोरोना नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।