भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित

३ बर्ष अघि

२0७८ बैशाख १७ शुक्रबार

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड  एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित

काठमाडौँ बैशाख १७ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३ सय १३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि हिजो ३ लाख ७९ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९ सय २५ पुगेको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २ सय ५० छ । यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।