दार्चुलाका तीन स्थानीय तहमा निषेधाज्ञा

३ बर्ष अघि

२0७८ बैशाख १६ बिहीबार

दार्चुलाका तीन स्थानीय तहमा निषेधाज्ञा

दार्चुला बैशाख १६। कोरोना संक्रमित भेटिएपछि दार्चुलाका तीन स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा विहिबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा विहिबार बेलुकी ७ बजेदेखि लागु हुने गरी र शैल्यशिखर नगरपालिकामा बिहिबार बेलुकी ९ बजेदेखि लागुहुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ नायलमा चार जनामा र वडा नम्बर ६ ग्वानीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मार्मा गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी र एक जना जीप चालक गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । यस्तै व्यास गाउँपालिकाका दुई जना स्थानीयमा समेत कोरोना पुष्टि भएको छ । यस्तै जिल्ला अस्पताल दार्चुलामा समेत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल दार्चुलामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अरु नागरिकको प्रतक्ष सम्पर्कमा रहेका व्याक्तिहरुलाई कोरोना पुष्टि भएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको अवज्ञा गरेको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा समुदायमा संक्रमण फैलिएको आसंका गरिएको छ । हालसम्म जिल्लामा १४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।