सीमानाकाहरुमा हेल्थडेस्क संचालन गर्न प्रशासनको आग्रह

३ बर्ष अघि

२0७८ बैशाख १६ बिहीबार

सीमानाकाहरुमा हेल्थडेस्क संचालन गर्न प्रशासनको आग्रह

दार्चुला बैशाख १६ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले  सीमानाकाहरुमा हेल्थडेस्क संचालन गर्न स्थानीय तहहरुलाई  आग्रह गरेको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्टलाई नियन्त्रण एवं न्युनिकरण गर्न जिल्लाका स्थानिय तहहरुका सिमानाकाहरुमा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा विहिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आजैका मिति देखी बिगतमा झै हेल्थडेस्क स्थापना गरी संचालन गर्न सबै स्थानिय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो । बाहिरबाट आएकाहरुलाई ति हेल्थडेस्कहरुमा चेकजाँच गर्ने व्यवस्था मिलाई कोरोनाको संक्रमण दर न्युन पार्ने लक्ष्य लिइएको छ ।  यस्तै छिमेकी मुलक भारतबाट दिनानुदिन घर फर्किने फर्किरहेकाहरुमा कोभिड–१९ को संक्रमण भए नभएको परिक्षण गर्ने निर्णय गरिएको छ । परिक्षण गर्दा कोरोना संक्रमण भेट्टीएमा  सम्बन्धित स्थानिय तहले ओइसोलेशनमा राख्ने व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।  बैठकमा भारत तथा नेपालका अन्य ठाँउहरुबाट जिल्ला आउने नेपाली नागरिकहरुको सम्बन्धित स्थानिय तहले व्यवस्थित रुपमा अभिलेख राखी अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने सुनिश्चितता गर्ने साथै सो को कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा गराउने निर्णय भएको छ । जिल्ला अस्पतालमा आइसोलेशनको संख्या निकै कम भएका कारण ज्वरो आएका बिरामीलाई चेकजाँच गर्नका लागी सशस्त्र प्रहरी बल नेपालको दार्चुला स्थित गण र नेपाली सेनाको गुल्मलाई टेन्ट उपलब्ध गराउन अनुरोध गर्ने पनि निर्णय गरिएको छ । यसैगरी बैठले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी अभाव भएको तथा आइसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मी उपलब्ध गराउन स्थानिय तहलाई अनुरोध गर्ने, कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गर्नका लागी नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखा मार्फत ४ सय थान कम्बल, मास्क, सेनिटाईजर, ५० थान बाल्टी, १२ थान पिपिई र आवश्यक मात्रामा साबुन उपलब्ध गराउनका लागी नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।