२ सय १३ किलोमिटर त्रीदेशीय सीमाको रक्षार्थ, दार्चुलामा शसस्त्र प्रहरीको पोष्ट थप्न सिफारिस

६ बर्ष अघि

२0७५ श्रावण २५ शुक्रबार

२ सय १३ किलोमिटर त्रीदेशीय सीमाको रक्षार्थ,  दार्चुलामा शसस्त्र प्रहरीको पोष्ट थप्न सिफारिस

दृष्टीकोण समाचार, साउन २५ दार्चुला । दार्चुला जिल्ला नेपाल भारत र चीनको त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । दार्चुला जिल्ला लालीको रतौडा देखि लिपुलेकसम्म भारतसँग १ सय ९८ किलोमिटर र लीपुलेक देखि बझाङ जिल्लासम्मको १५ किलोमिटर चीनसँग  गरी जम्मा २ सय १३ किलाेमिटर त्रिदेशीय सीमा जोडिएको जिल्ला हो ।
शसस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर दार्चुला नम्बर ५० गुल्म दार्चुलामा रहेको छ । जिल्ला बाट सीमाको सुरक्षा गर्न भौगोलिक कठिनाइ एकातर्फ र सीमा क्षेत्रमा सडक सञ्जाल नभएको आवस्थामा जिल्लाकाे छ वटा ठाउँमा शसस्त्र प्रहरीको नयाँ पोष्ट थप गर्न प्रस्ताव गरेकाेमा जिल्ला सुरक्षा समितिले ब्याँस गाउँपालिकाकाे सितापुल र दुम्लीङमा सुरक्षा पाेष्ट राख्न  गृह मन्त्रालयमा सिफारिस गरेको शसस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटर दार्चुलाका गुल्मपती भिम बहादुर चन्दले जानकारी दिनुभयो ।

 
जिल्ला सुरक्षा समिति दार्चुलाले बर्ष भरी गरेको गतिविधी सार्वजनिक गर्दै गुल्मपती चन्दले दार्चुला जिल्लामा हाल जिल्ला हेड क्वाटर र शैल्यशिखर नगरपालिकाको बलाँचमा रहेको चमेलिया जलविद्युत्त आयोजनाको सुरक्षाका लागि शसस्त्र प्रहरी बल खटिएको जानकारी दिनुभयो । दार्चुला जिल्लामा थप प्रस्तावित गरिएका पोष्टहरुमा लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजिबी, र व्याँस गाउँपालिकाका सुन्सेरा, दुम्लीङ, सितापुल र छाङरु तिङ्कर रहेका छन् । प्रस्तावित ६ ठाउँमध्येबाट व्याँस गाउँपालिकाको सितापुल र दुम्लीङमा सुरक्षा पोष्ट राख्न जिल्ला सुरक्षा समितिले सिफारिस गरेको छ । 
यस बाहेक शसस्त्र प्रहरी बल नेपालले दार्चुलाको पुलघाँटमा नेपाल भारत सीमा जोड्ने पुलमा सुरक्षा डिउटी र विपद् व्यवस्थापनका लागि आपतकालिन उद्धार टोली तैनाथ राखेको छ । हाल जिल्लाका विभिन्न ठाउँहरुमा शसस्त्र प्रहरीले लामो गस्ती गर्ने गरेको छ । सीमा सुरक्षा बाहेक  जिल्लाकाे समग्र शान्ति सुरक्षा, चाडपर्ब , बन्द हड्ताल लगायतका गतिबिधीहरुमा पनि शसस्त्र प्रहरीले काम गर्दै अाएकाे छ । 
हालसम्म शसस्त्र प्रहरी बल नेपालले गत बर्ष महाकाली नदीमा बगेका ३ जनाको उद्धार गरेको छ भने जिल्ला भरी १७ ठाउँमा विपद सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ । यसका अतिरिक्त लैङ्गिक हिंसा, मानव अधिकार रक्षा सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रम गरेको गुल्मपती भिमबहादुर चन्दले जानकारी दिनुभयो ।