‘प्रधानमन्त्रीज्यू, छोरालाई बचाउनुपर्‍यो, दुई मिनट त समय देऊ’

६ बर्ष अघि

२0७५ श्रावण २५ शुक्रबार

‘प्रधानमन्त्रीज्यू, छोरालाई बचाउनुपर्‍यो, दुई मिनट त समय देऊ’

दृष्टीकोण समाचार, साउन २५ दार्चुला । दुबईको अदालतद्वारा मृत्युदन्डको सजाय सुनाइएका दार्चुलाका अमरबहादुर बमका बाबुले छोराको जीवनरक्षाको पहल गरिदिन बिलौना गर्दै प्रधानमन्त्री निवास बालुवाटारतिर भौंतारिएको एक साता भइसकेको छ ।सुन्धाराको एक होटलमा दिनको १५ सय रुपैयाँ खर्च गरेर बस्दै आएका ६९ वर्षीय कर्णबहादुर बमले एक हप्ता बितिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एउटा ज्ञापनपत्र बुझाउने अवसर पनि पाएका छैनन् । शुक्रबार हामीसँग कुरा गर्दै कर्णबहादुरले भने–‘प्रधानमन्त्रीज्यू, छोरालाई बचाउनुपर्‍यो, दुई मिनट त समय देऊ !’दिनभरि प्रधानमन्त्री कार्यालय धाइरहे पनि समय उपलब्ध नगराइएको उनको गुनासो छ ।एकजना भारतीय नागरिक शरद सेठीको हत्याको अभियोगमा अमरबहादुर विगत १६ वर्षदेखि दुबईको जेलमा कैदी जीवन बिताइरहेका छन् ।यसबीचमा नेपालमा थुप्रै सरकारहरु फेरिए र प्रधानमन्त्रीहरु पनि पटक–पटक फेरिए ।तर, कर्णबहादुर बमहरुको आवाज सुनेर उनका छोराको जीवनरक्षा गर्न कुनैपनि सरकारले अहिलेसम्म ठोस पहल भने गरेका छैनन् ।बम निर्दोष रहेका भन्दै परिवार, आफन्त मिलेर अमर बचाऊ अभियान नै चलाएर जीवनरक्षाको पहल गर्न सम्बन्धित निकायहरुमा वर्षौंदेखि माग गरिरहेका छन् ।