भारतबाट आएका एक नेपालीलाई कोरोना पुस्टि

३ बर्ष अघि

२0७७ चैत्र २८ शनिबार

भारतबाट आएका एक नेपालीलाई  कोरोना पुस्टि

दृष्टिकोण समाचार चैत्र २८ दार्चुला ।  दार्चुलामा भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय पुरुषमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको हो। उनी भारतको उत्तर प्रदेश नोयडाबाट आएका हुन्। उनलाई जिल्ला अस्पतालको आइसोलेशन राखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाले भारतबाट फर्किने नेपालीको पूल घाटमा एन्टिजेन परीक्षण गरिरहेको छ। कोरोना भाइरसको महामारी थप फैलिन नदिन नेपालमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन प्रस्ताव गरेकै बेला सुदूरपश्चिममा भने लापरबाही गर्ने क्रम रोकिएको छैन। सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर सुरू भएर दैनिक संक्रमणको दरसमेत उकालो लागिरहेको बेला सभा, सम्मेलन र भीडभाड गर्ने व्यवहारमा झनै वृद्धि हुन थालेको छ। भारतसँगका सीमानाका अस्तव्यस्त एवम् भिडभाडयुक्त देखिन्छन्, जहाँ निगरानी तथा परीक्षण कमजोर पाइएको छ। बजारमा मास्क तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरीको पालना जस्ता व्यवहारको पूर्ण बेवास्ता गरिएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको कोरोनाभाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समिति सीसीएमसी लाई सिफारिस गरिसकेको छ। त्यस्तै २५ जनाभन्दा बढी भेला नहुनसमेत प्रस्ताव गरेको छ।