४० जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

३ बर्ष अघि

२0७७ माघ २0 मंगलवार

४० जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

दृष्टिकोण समाचार माघ २० दार्चुला ।  दार्चुलाका कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । कारागारभित्रका ४० जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।  यसअघि कारागारमा रहेका ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोनाको जोखिम कारागारभित्र पनि रहेको भन्दै कोरोनाविरुद्धको खोप लगाइएको भट्टले बताउनुभयो । सरकारले कैदीबन्दीलाई पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेको छ । कैदीबन्दीलाई स्वास्थ्यकर्मीले कारागारभित्रै पुगेर खोप लगाएको जेलर मानबहादुर खडायतले बताउनुभयो । कारागार दरबन्दी रहेका स्वास्थ्यकर्मी चार वर्षदेखि नआएको कारण अस्पतालबाटै आएका स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।  यस्तै सोमबार मात्र जिल्लाभरीका ११ जना स्वास्थ्यकर्मी, ७ जना स्वास्थ्य संस्थामा कार्यरत सहयोगी, एक जना चालक, १ जना सफाईकर्मी गरी ६० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गत माघ १४ गतेबाट शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत सोमबारसम्म जिल्लाभरीका ६ सय ८५ जनाले खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको पहिलो चरणमा अंग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमणबाट मृत्यु भएकोहरुको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाले यो अवधिमा २ वटा नगरपालिका र ७ गाउँपालिकाका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोप लगाएको छ ।  पहिलो चरणमा माघ १४ गते देखि १८ गते सम्म कोरोना खोप लगाउने तालिका बनाएको थियो । यो अवधिमा सबैलाई खोप लगाउन नसकिएको कारण तीन दिन खोप लगाउने अभियान थप गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । एक मात्रै खोप केन्द्र जिल्ला अस्पताल दार्चुला तोकिएको हुँदा सबैलाई समयमै खोप लगाउन नसकिएको हो । खोप केन्द्र लगाउन ढिलाई भएपछि मंगलबारदेखि गोकुलेश्वर अस्पताल गोकुलेश्वरमा पनि खोप केन्द्र थप गरिएको छ ।  खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।