पत्रकार खगेश्वरी बुढा (ज्योती) दृष्टीकोण समाचार दार्चुला
बलात्कारजस्तो जघन्य अपराधमा संलग्न हुनेमा नजिकका छिमेकी, आफ्नै बाबु, दाजुदेखि प्रहरी समेत छन् । यसले के देखाउँछ भने हरेक आमालाई पलपलमा छोरी जोगाउने चिन्ता छ ।
आमाहरूलाई एकतिर घरको काम, अर्को्तिर कार्यालयको जागिर अनी छोरी जोगाउने चिन्ता । यतिसम्मकी एउटी आमालाई आफ्नै बाबुसँग छोरी छोडेर बाहिर निस्कन डराउनु पर्ने अवस्था छ । आफ्नी अबोध छोरीलाई विद्यालयमा पठाउँदा ढुक्क भएर बस्न नसक्ने अवस्था एकातिर छ भने छरछिमेक र आफन्तबाट पनि डराउनुपर्ने स्थिति छ । बाबु, दाजु, गुरु, अनी आफन्त र अरुलाई न्याय दिने प्रहरीबाटै छोरीहरू बलात्कृत हुने र बलात्कारजस्तो कुकृत्यलाई लुकाउन हत्या नै गर्ने अपराध बढेपछि यतिखेर छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । दिनैजस्तै यस्ता अपराधिक घटना बढ्दै जान थालेपछि हाम्रो समाज छोरीहरूका लागि असुरक्षित हुन थालेको छ । अपराधिक मानसिकता बोकेका पुरुषहरू छोरीहरूको अस्मिता लुटेर सिंगो मुलुकलाई नै कलंकित बनाउँदै छन् । अबोध बालिका बलात्कृत हुन्छे, मान्छेहरू आन्दोलित हुन्छन् अनि सरकार राहत दिएर बलात्कृत बालिकामाथि पटक पटक बलात्कार गर्छ । मानौ राहत पाउने भएपछि अझ धेरै छोरीहरू बलात्कृत हुँदैछन । यतिसम्म कि राजनीतिक दलहरूले समेत बलात्कारपछि हत्या गरिएको शबमाथि राजनीति गर्न थाल्छन् । बलात्कार जस्तो अमानवीय र जघन्य अपराध रोक्न राज्यस्तरबाट पनि खासै पहल भएको छैन । बनेका कानुनअनुसार पीडकलाई कारवाही नहुँदा अपराधिक मानसिकता बढेको छ । बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्ने हो भने केही हदसम्म मानिसहरू डराउँथे तर भएका ऐन, कानुनअनुसार बलात्कारीलाई सजायँ भएका थोरै घटनाहरू मात्रै छन् । उच्च नेतृत्वमा रहेकाहरूलाई बलात्कारको मुद्दा उठाउन बलात्कार हुनैपर्ने अवस्था छ । आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई यस्तो सजाय होस् कि समाजमा अरु बाबुहरूले छोरीमाथि बलात्कार नगरुन् । दाजुहरूले बहिनीमाथि बलात्कार नगरुन् । तर यहाँ छोरीहरू बलात्कृत हुँदै छन । त्यसमाथि राजनीति गरिरहन पाउँ भन्ने मानसिकताले गर्दा छोरीहरू असुरक्षित छन् । ती छोरीहरूले पटकपटक बलात्कृत भएर हत्याको शिकार हुनुपरिरहेको छ । हिजो आज म हरेक दिन रात नारी अस्तीत्व र पहिचान खोजिरहेकी छु । तर किन हो कहिँ कतै भेट्न सकिरहेकी छैन । अनगिन्ती प्रश्न र जिज्ञासा कहिले आफैलाई सोध्छु कहिले अरुलाई । तर पनि जवाफ पाउन सकेकी छैन । प्रत्येक दिन, प्रत्येक क्षण भइरहेका बलात्कार र लैंगिक हिंसाका घटनाहरूले यो समाज कता जाँदैछ ? भन्ने सोच्न बाध्य बनाउँछ । महिला वा पुरुष जो सुकै होस् । हरेकले सम्मानपूर्वक बाँच्न पाउनु पर्दछ । मेरो आमाको, छोरीको, दिदीको, श्रीमतीको मात्र हैन प्रत्येकको आमाको, छोरीको, दिदीको, श्रीमतीको सम्मान गर्नु पर्दछ । नेपालको संविधानको धारा १६(१) मा प्रत्येक व्यक्तिलाई ‘सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक’ संरक्षित गरिएको छ । ‘सम्मानपूर्वक बाँच्न पाउने’ Life with Dignity को हक हो । सम्मानपूर्वक भन्नाले प्रत्येक व्यक्तिको आफ्नो इच्छाअनुसार कसैको दवाव, धम्की, प्रभाव वा डरमा नपरी आफ्नो शरीर, सम्पत्ति र बासस्थानमा गोपनियताका साथ रहन पाउने र कसैले अतिक्रमण गर्न नपाउने र सुरक्षित जिन्दगी जिउने हक हो । प्रत्येक नागरिकले आ–आफ्नो इच्छा अनुसार आ–आफ्नो प्रतिष्ठा कायम गरी बाँच्न पाउनु पर्छ भन्ने हो । साथै नागरिकको शरीर, सम्पत्ति, बासस्थान र क्रियाकलापको गोपनियता एवं अनतिक्रम्यताको संरक्षण गर्ने कर्तव्य सरकारको हो । प्रत्येक नागरिक जन्मदा नै स्वतन्त्र भएर जन्मछ । उसले कानुनले अपराध भनी परिभाषा गरेको काम नगरुन्जेल उसको स्वतन्त्रतामा रोक लाग्न सक्दैन । तर कहिलेकाहीँ कसैले आफ्नो स्वतन्त्रताको दुरुपयोग गरी अरु कसैको अनतिक्रम्य सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि आक्रमण गर्न सक्छ । अन्याय गर्ने भन्दा अन्याय सहनु पाप हो । त्यसैले हामी सबैले यस्ता नाङ्गो मानसिकता विरुद्ध आवाज उठाउन आवश्यक छ ।