दृष्टिकोण समाचार माघ १८ दार्चुला । दार्चुलामा पाँच दिनको अवधिमा ६ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट सुरु गरिएकोमा आईतबार सम्म ६ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको पहिलो चरणमा अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमणबाट मृत्यु भएकोहरुको शब ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाले दार्चुला भरिका लक्षित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाईकर्मीहरुलाई माघ १४ गते देखि १८ गते सम्म कोरोना खोप लगाउने तालिका बनाएको थियो । पाँच दिनको अवधिमा ६ सय २७ जनाले मात्रै खोप लगाएकाले माघ २१ गते सम्म खोप लगाइने सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । दार्चुलामा १ हजार १ सय ५० जना लक्षित ब्यक्तिहरुलाई पहिलो चरणमा खोप लगाउन छनोट गरिएको छ । खोप अभियानका लागि दार्चुलालाई १ हजार ३ सय ९० कोभिसिल्डको भ्याक्सीन प्राप्त भएको थियो ।