नेपाल भारत सिमा नाका पुलघाटमा हेल्थ डेस्क स्थापना हुने

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

नेपाल भारत सिमा नाका पुलघाटमा हेल्थ डेस्क स्थापना हुने

दृष्टिकोण समाचार माघ १८ दार्चुला ।  भारतसंग सीमा जोडिएको दार्चुलाकोे सीमा नाका पुलघाटमा यो महिनाको अन्तिमसम्म  हेल्थ डेस्क स्थापना हुने भएको छ । सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापनाको तयारी अन्तिम चरणमा पुगको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । चालू आर्थिक बर्षदेखि नै हेल्थडेस्क स्थापना हुने र यसको तयारीसमेत अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । हेल्थ डेस्कमा तत्कालका लागि एकजना हेल्थ असिष्टेन्ट र एक जना ल्याब टेक्निसियन खटाउने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । हेल्थ डेस्कबाट स्वास्थ्य चौकीस्तरका सेवा प्रदान गरिने बताइएको छ । अहिले उतm  क्षेत्रमा स्वास्थ्यकर्मीहरुलाई राख्नको लागि घरको खोजिभइरहेको छ । हेल्थ डेस्क सञ्चालनका लागि आवश्यक जनशक्तिको माग गरिएको छ ।  सीमाबाट आवतजावत गर्ने नागरिकको कोरोना परीक्षण लगायत अन्य रोगहरुको पनि परीक्षण र उपचार गर्नेका लागि सिमा क्षेत्रमा स्वास्थ्यकर्मीहरु खटाउने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । प्रदेश सरकारको सहयोगमा सीमा नाकाको हेल्थ डेस्कलाई नियमित रुपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । सीमा नाकामा स्थापना हुने हेल्थ डेस्कले सीमाबाट आवतजावत गर्ने नागरिकलाई स्वास्थ्य परीक्षणका लागि सहज हुने विश्वास गरिएको छ । यसका साथै हेल्थ डेस्कले वरीपरीका अन्य नागरिकलाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।