दार्चुलामा नेपाल टेलिकमको विकल्प छैन 

६ बर्ष अघि

२0७५ श्रावण २३ बुधबार

दार्चुलामा नेपाल टेलिकमको विकल्प छैन 

कृष्ण धामी साउन २३ दार्चुला । दार्चुलामा सञ्चारको क्षेत्रमा नेपाल टेलिकमले सञ्चार सेवा प्रदान गरेको छ । नेपाल टेलीकम बाहेक एनसेलले पनि आफ्नो सेवा विस्तार गर्ने क्रममा रहेको छ । दार्चुला जिल्लाको कुल जनसंख्याको झण्डै आधा भन्दा बढी जनसंख्या सञ्चार फोनको प्रयोग गर्ने गरेका छन् । नेपाल टेलीकमले हालसम्म वितरण गरेको लेण्डलाईन, स्काई र नमस्तेको टेलीफोन सेवा हेर्दा लगभग जिल्लाको सबै भु—भागसम्म पुगेको छ । 
नेपाल टेलीकमले हालसम्म ८ सय १६ लेण्डलाईन मध्ये ७ सय ४२ वटा वितरण गरिएको छ । त्यसैगरी सिडिएमए पोष्टपेड ८ सय ५२, प्रीपेड ३३ हजार ५ सय १८ र नमस्ते पोष्टपेड १ सय २२ तथा प्रीपेड ४१ हजार ४ सय ७८ गरी ७६ हजार ७ सय १२ ग्राहकलाई सेवा प्रदान गर्दै आएको नेपाल टेलीकम दार्चुला शाखा प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।
यस बाहेक इन्टरनेटका ६ सय ३ एडिएसएल मध्ये ३ सय ३२ एडिएसल वितरण गरिएका छन् । झट्ट हेर्दा दार्चुला जिल्ला सञ्चार सेवा जोडिएको भएपनि नेपाल टेलीकमको सेवा गुणस्तरिय नरहेको सेवाग्राहीको भनाई छ ।
अप्टीकल फाइबर नहुँनु र रेडियो लिङ्ककका आधारमा सुचारु भएको दार्चुलाको सञ्चार सेवामा बेला बेला समस्या आउने गरेको छ । बेला—बेला चट्याङ लाग्नु, व्याकअप पावर नहुनु र भौगोलिक कठिनाईका कारण खराबी आएमा पनि तुरुन्तै सल्झाउन समस्या हुने गरेको छ । 
जिल्ला भरी दुई दर्जन टावर, मार्मा गाउँपालिका टावर विहिन 
नेपाल टेलीकमले दार्चला जिल्लाभी दुई दर्जन टावर राखेर सेवा सुचारु गरिरहेको छ । दार्चुला जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये मार्मा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा नेपाल टेलीकमले टावर राखेका छन् । मूख्य टावर मालिकार्जुन गाउँपालिका वडा नम्बर २ बालशिखरमा रहेको छ । यसबाहेक महाकाली नगरपालिकामा ८, शैल्य शिखर नगरपालिकामा ५ वटा,  दुँुहुँमा २, आपीहिमालमा १, नौगाडमा ३, लेकम १, व्याँस २, र मालिकार्जुन गाउँपालिकामा ३ टावर सञ्चालनमा रहेको नेपाल टेलिकम दार्चुला शाखाले जनाएको छ । 
सेवा सुचारु गर्नका लागि नेपाल टेलिकमले आफ्नो छुट्टै योजना तयार गर्दै सेवा विस्तार गरिरहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिनुभयो । 
टेलिकमको विकल्प छैन 
नेपाल टेलिकम बाहेक दार्चुला जिल्लामा फाट्ट फुट्ट रुपमा एनसेल र भारतीय सञ्चार विएसएनल, एयरटेल, आइडिया जस्ता सञ्चार कम्पनीहरुको सेवा पनि छ । तर अधिकाँश जनता नेपाल टेलीकमकै भरमा छन् । अन्य सञ्चार कम्पनीको सेवा सर्व सुलभ नहुनु र जस्तो सुकै परिस्थितिमा पनि नेपाल टेकलमको सेवा सुरु हुुनुले पनि यसका प्रयोगकर्ता बढेका हुन् । 
नेपाल टेलीकम बाहेक सेवा प्रदायक सस्था नहुनुले पनि जिल्लामा सञ्चार सेवा प्रभावकारी हुन नसकेको कतिपयको बुझाई छ ।