दार्चुलका नौ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि सहज

३ बर्ष अघि

२0७७ माघ १८ आईतवार

दार्चुलका नौ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि सहज

दृष्टिकोण समाचार माघ १८ दार्चुला । दार्चुलाको दुर्गम स्थानीय तह अपिहिमाल गाउँपालिकाका स्थानीय एक÷दुई वर्ष अघिसम्म बैंकिङ कारोबारका लागि तीन दिन हिडेर दार्चुला सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता थियो । गाउँमै बैंक स्थापना भएपछि गत वर्षदेखि उहाँले दुई घण्टामै बैंकिङ कारोबार गरेर घर फर्किन पाइएको छ । अपिहिमालमा मात्र हैन, दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएपछि नागरिकलाई सहज भएको छ ।  दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका नौँ वटै स्थानीय तहमा बैकिङ सेवा पुगेपछि सुरक्षा र सहजता महसुस भएको नौगाड गाउँपालिकाका स्थानीय प्रकाश धामीले बताउनुभयो । एक वर्ष अघिसम्म गाउँघरमा वित्तिय संस्थाहरु नहुदा ग्रामीण क्षेत्रका नागरिकहरुले बैंकिङ सेवा लिनका लागि जिल्ला सदरमुकाम खलंगा धाउनुपर्ने बाध्यता कायमै रहेको थियो । पछिल्लो समय सेवाग्राहीले गाउँघरमै बैंकिङ सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा गत वर्षसम्म स्थानीय तह, सरकारी कार्यालय, संघ, संस्था तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेकोमा पछिल्लो समय समस्या समाधान भएर गाउँपालिकाबाटै नियमित सेवा प्रवाह भइरहेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा स्थानीयले योजनाको भुक्तानी लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । गाउँदेखि सदरमुकामसम्म आवातजावत गर्दा ढिलासुस्ती र बढी खर्च हुने गरेको थियो । अहिले योजनाको रकमका साथै सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब भत्ता समेत स्थानीय तहको बैंकबाटै भुक्तानी हुन थालेको छ स्थानीय तहका अधिकासं काम पालिकाकै बैंकमार्फत हुन थालेका छन् । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा स्थानीय तह स्थापना हुनुभन्दा पहिले पनि बैंक सञ्चालनमा थिए । सात वटा गाउँपालिकामा देश संघीयतामा गएपछि बैंक स्थापना भएका छन् । “स्थानीय स्तरमै बैंकिङ सेवा शुरु हुँदा पालिका, कार्यालयहरुका साथै स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।” स्थानीय तहमा बैंकिङ सेवा नहुँदा विकास निर्माणका योजनाको भुक्तानी, खाता सञ्चालन र रकम ओसार पसारमा जोखिम हुने गरेको थियो । पालिकामै बैंक विस्तार भएपछि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत भुक्तानी भइरहेको छ । गाउँमै बैंक शाखा खुलेपछि धेरै झण्झटबाट मुक्ति पाइएको कर्मचारीहरुले बताएका छन् । खासगरी दार्चुलाको अपिहिमाल र व्यास गाउँपालिकामा बैंक खुलेपछि व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई समेत राहत भएको छ । व्यापारको दृष्टिकोणले व्यास र अपिहिमाल प्रख्यात स्थानीय तह हुन् । बहूमूल्य जडिबुटी यार्सागुम्बालगायत सयौँ प्रकारका जडिबुडीको व्यापार यहि स्थानीय तहमा हुने गरेको छ । विगतमा व्यापारीहरुले खलंगाबाट जोखिम मोलेरै गाउँमा रुपैयाँ बोक्नुपर्ने बाध्यता रहेकोमा स्थानीय तहमा बैंक खुलेपछि सहज भएको स्थानीयहरुले बताउछन् ।