प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा दुवै टोलीको दाबेदारी

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा दुवै टोलीको दाबेदारी

काठमाण्डौ माघ १६ । शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरमा रहेको त्रिभुवन विद्यालयको मैदानमा शुक्रबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन् । सेमिफाइलनमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुई प्रवेश गरेको एपीएफका कप्तान शरद भेषवाकरले आफ्नो टोली उपाधि उचाल्नका लागि भोको रहेको बताए । भेषवाकरले केही दिनको आरामपछि टोलीको फिटनेस भएको भन्दै उपाधि भिडन्तमा उत्कृष्ट ११ को टोली फाइनलमा प्रवेश गर्ने बताए ।  यसअघि सम्पन्न तीन संस्करणमध्ये पहिलो संस्करणमा संयुक्तरूपमा विजेता बनेको आर्मी त्यसपछिका दुई संस्करणमा उपविजेतामा खुम्चिएको थियो । दुवै पटक फाइलनमा पुगेको आर्मी पुलिससँग पराजित भएको थियो । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विगतको नतिजालाई हेरर भन्दा पनि आउँदो दिनका लागि खेल्नुपर्ने बताए । लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदान प्रवेश गर्ने उनले बताए । एउटै खेलाडीबाट मात्र टोलीले अन्तिम दुईमा स्थान बनाएको भन्दै फाइनलमा भने सन्तुलित खेल देखाएर उपाधि जित्ने लक्ष्य रहेको विनोदले बताए । अन्तिम दुईमा स्थान बनाउँदा एपीएफ समूह ‘ए’ बाट विजेताका रूपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी त्यही समूहबाट उपविजेताका रूपमा प्रवेश गरेको थियो । समूह चरणको भेटमा भने एपीएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो । यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमनेसामने भएका छन् । जसमा एपीएफ बलियो देखिएको छ ।