चुनावको तयारीमा अघि बढ्न आयोगलाई नेकपाको ओली पक्षको आग्रह

३ बर्ष अघि

२0७७ माघ १६ शुक्रबार

चुनावको तयारीमा अघि बढ्न आयोगलाई नेकपाको ओली पक्षको आग्रह

काठमाण्डौ माघ १६ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी शर्मा ओली पक्षले निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।  नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरेको हो ।  आयोगले सर्वोच्च अदालतले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताएको छलफलपछि नेता नेम्वाङले जानकारी दिनुभयो । निर्वाचन आयोगले शुक्रबार आज छलफलका लागि नेकपाको ओली र प्रचण्ड–नेपाल पक्षलाई बोलाएको थियो ।  यसअघि छलफलमा पुगेका प्रचण्ड–नेपाल समूहका नेताले भने केही दिनको समय मागेर फर्किएका थिए । सरकारले आउँदो वैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ ।  गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि चुनावको मिति घोषणा गर्नुभएको हो ।