दार्चुलामा मध्यवधी निर्वाचनको तयारी

३ बर्ष अघि

२0७७ माघ १३ मंगलवार

दार्चुलामा मध्यवधी निर्वाचनको तयारी

दृष्टिकोण समाचार माघ १३ दार्चुला । दार्चुला जिल्लामा मध्यवधी निर्वाचनको तयारी थालिएको छ । नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेसंगै मतदाता अद्यावधिक लगायतका कार्यक्रम गर्न थालिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन आयोगको नियमित कार्यक्रम अन्तरगत मतदाता नामावली अद्यावधिक सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयले माघ १५ गतेदेखि प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्यक्रम गर्न लागेको बारेमा जानकारी गराउने उद्देश्यले आज सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी धामीले बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म सार्वजनिक बिदा परेका दिन समेत कार्यक्रम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न लागेका उहाँको भनाई छ । साथै निर्वाचनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत उहाँल आग्रह गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।