वडा नम्बर ७ मा लगाएकाे ताला सहमतिमा खाेलियाे

३ बर्ष अघि

२0७७ माघ ११ आईतवार

वडा नम्बर ७ मा  लगाएकाे ताला सहमतिमा खाेलियाे

दृष्टिकोण समाचार माघ ११ दार्चुला । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ को वडा कार्यालयमा लगाइएको ताला आज सहमितमा खोलिएको छ । गाउँकार्यपालिकाको पुष २२ गतेको निर्णयले ७ नम्बर वडा कार्यालयको भवन जौलजीवि बनाउने निर्णयको बिरोधमा केही स्थानीयहरुले माघ ८ गते तालाबन्दी गरेका थिए । वडा कार्यालयको भवन निर्माण कार्यले विवाद सिर्जना भएपछि वडा कार्यालयको भवन निर्माणका विनियोजित गरिएको बजेट नै रकमान्तर गरि विवाद समाधान गरिएको वडाध्यक्ष लोकेन्द्र सिंह धामीले बताउनु भयो । गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी आफै गएर वडा कार्यालयको विवाद समाधान गरिएको हो । गाउँपालिकाले वडा कार्यालयको भवनका लागि विनियोजन गरेको २० लाख बजेट रकमान्तर गर्ने गरी उक्त विवाद समाधान गरि आज ताला खोलिएको हो । वडा कार्यालयको भवन निर्माण गर्ने कार्यले विवाद सिर्जना भएकाले उक्त बजेट रकमान्तर गर्न गाउँकार्यपालिकालाई अनुरोध गर्ने निर्णय भएको वडाध्यक्ष लोकेन्द्र सिंह धामीले बताउनु भयो । उक्त निर्णय संगै वडा कार्यालयमा लगाइएकोे ताला खोलि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ । वडा कार्यालयको भवनका लागि सबैको पाइक पर्ने मध्य बिन्दुमा नेपाल सरकारको मापदण्ड अनुसार बनाउने निर्णय सर्वसम्मत् पारित गरिएको छ । उक्त निर्णयसंगै संघर्ष समितिले पनि सहमति जनाएका हुन् ।