नौगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ६१ ओटा योजना

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

नौगाड गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ६१ ओटा योजना

दृष्टिकोण समाचार पौष २१ दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा बेरोजगार युवाहरुका लािग ६१ योजना छनौट गरिएको छ । प्रधानमन्त्री रोजगार तथा बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्धेश्यले ६१ ओटा योजना हरुको छनोट गरिएको हो । यसअघि मंसिर अन्तिमतिर प्रधानमन्त्री रोजगार कार्यक्रम तथा बेरोजगार युवासंग गाउँपालिका अध्यक्ष कार्यक्रम कार्यान्वयन गर्ने विषयमा छलफल गरी आइतबार योजनाहरुको छनौट गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको बैठकले योजनाहरु छनौट गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा कार्यालयबाट प्राथमिकरण भइ आएका ६१ ओटा योजनाहरु छनौट गरिएको योजना शाखा अधिकृत नरेन्द्रप्रसाद ठगुन्नाले बताउनु भयो । वडा नम्बर १ मा आठ ओटा योजना, वडा नम्बर २ मा ९ ओटा, वडा नम्बर ३ मा ८ ओटा, वडा नम्बर ४ मा नौ ओटा योजना छनौट गरिएको योजना शाखा अधिकृत ठगुन्नाको भनाई छ । त्यसैगरी वडा नम्बर ५ मा १० ओटा योजना र वडा नम्बर ६ मा सबैभन्दा बढी १७ ओटा योजनाहरु छनौट गरिएको छ । गाउँपालिकाभरीमा न्युनतम दुई लाखदेखि १० लाखसम्मका योजनाहरु छनौट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक करोड २१ लाख ५० हजार, युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना ५१ लाख ७० हजार र बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत ३१ लाख ३० हजार गरी जम्मा २ करोड ४ लाख ५० हजार बजेट रहेको छ । प्रधानमन्त्री रोजागर कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण आयोजनाको बजेट कामदारहरुको पारिश्रमिकमा खर्च गरिने योजना शाखा अधिकृत नरेन्द्र प्रसाद ठगुन्नाले बताउनु भयो । बेरोजगारसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगतको ३१ लाख ३० हजार बजेट भने बाह्य सामग्री, सिमेन्ट, सरिया लगायतका निर्माण सामग्रीमा खर्च गरिने योजना शाखा अधिकृत ठगुन्नाले बताउनु भयो ।
कुन वडामा कति बजेट ः
नौगाड गाउँपालिकाभरीका सबै वडामा गरी जम्मा ३ सय ३५ जनाले एक सय दिन बराबरको रोजगार पाउने भएको छन् । गाउँपालिकामा रोजगारीका लागि २६ सयले आबेदन दिएपनि आर्थिक स्थिति कमजोर रहेका, पिछडिएको, विदेशबाट फर्किएका तथा स्वदेशमै रोजगारी गुमाई घरमा बसेकाहरुलाई प्राथमिकता दिइएको रोजगार संयोजक रबिन्द्र शाहले बताउनु भयो । वडा नम्बर १ मा ८ ओटा योजनाका लागि ४५ लाख ७७ हजार २ सय रुपैयाँ, वडा नम्बर २ मा ९ ओटा योजनाका लागि ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा नम्बर ३ मा ८ ओटा योजनाका लागि ४० लाख ७७ हजार २ सय रुपैयाँ, वडा नम्बर ४ मा ९ ओटा योजनाका लागि ४२ लाख २७ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै वडा नम्बर ५ मा १० ओटा योजनाका लागि ४७ लाख २७ हजार २ सय र वडा नम्बर ६ मा १७ ओटा योजनाका लागि ६९ लाख ४७ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।