साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाण्डौ पौष २१ ।  साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिनु भएको हो । एक टेलिभिजनमा कुराकानीका क्रममा उहाँले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताउनु भएको हो । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गल्फ कोअपरेशन काउन्सिल जीसीसीको सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात म्पर्कबिच्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आतंकवादलाई बढवा दिएको आरोप थियो । कतारले भने यो आरोपको खण्डन गर्दै आएको छ ।