पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

३ बर्ष अघि

२0७७ पुष २१ मंगलवार

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ पौष २१ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन । हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ । पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो । महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन । मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । आज दिनभर नै देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ । त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार रातिसम्म नै मौसममा बदलीको अवस्था रहनेछ । वर्षा र हिमपातपछि चसो बढेपछि महाशाखाले चौविस घण्टे परामर्श जारी गर्दै सचेत रहन आग्रह पनि गरेको छ । महाशाखाले मंगलबार बिहान जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आइ देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’