दुई  दिनमा ७३ हजारभन्दा बढी चिनियाँले लगाए कोरोनाविरूद्धको खोप

३ बर्ष अघि

२0७७ पुष २0 सोमबार

दुई  दिनमा ७३ हजारभन्दा बढी चिनियाँले लगाए कोरोनाविरूद्धको खोप

एजेन्सी पौष २० । चीनको राजधानी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् । स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् । चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।