सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

३ बर्ष अघि

२0७७ पुष १९ आईतवार

सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

दार्चुला । देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ । भोलिदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसमविदको भनाइ छ । पश्चिमी वायूको प्रभावले   प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविद सजिना शाक्यले बताउनुभयो । यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ । तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकामा हिजो भन्दा केही न्यानो महसुस भएको छ । हिजो १ दशमलव तीन डिग्री रहेको काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीमा पुगेको छ । यस्तै पानी तथा हिमपातका कारण चिसो बढ्ने भएकोले चिसोबाट बच्न सावधानी अपनाउनका लागि मौसम पूर्वानुमान महाशाखाले अनुरोध पनि गरेको छ ।