दार्चुलामा विद्यार्थी कुट्ने शिक्षक पक्राउ, शिक्षक रिहाइको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

३ बर्ष अघि

२0७७ पुष १६ बिहीबार

दार्चुलामा विद्यार्थी कुट्ने शिक्षक पक्राउ, शिक्षक रिहाइको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

पृथ्वीराज सुनाम पुष १६ दार्चुला । शिक्षक रिहाइको माग गर्दै महेन्द्र माविका विद्यार्थीहरुले आन्दोलन गरेका छन् । दार्चुलामा शिक्षकको कुटाइपछि विद्यार्थी घाइते भएका हुन्। गत बुधबार महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमूना माविका एक शिक्षकको कुटाईबाट नौगाड गाउँपालिका–६ का कक्षा ८ मा अध्ययनरत विद्यार्थीको कानमा चोट लागेको थियो। सोही विषयमा विद्यार्थीका अभिभावकले दिएको जाहेरीका आधारमा निज शिक्षकलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । अभिभावकको जाहेरीपछि निज शिक्षकलाई पक्राउ गरि नियन्त्रणमा राखिएको छ । स्वास्थ्य रिपोर्ट अनुसार विद्यार्थीको कानको जाली फुटेको छ। सोही अनुसार कानुनी प्रक्रिया अगाडी बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानको क्रममा रहेकोले शिक्षक र विद्यार्थी दुवैको नाम गोप्य राखिएको छ । पक्राउ परेका शिक्षकको रिहाईको माग गर्दै सोही विद्यालयका अन्य विद्यार्थीहरुले  बिहिबार जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्। उनीहरुले शिक्षकलाई तत्काल रिहा गनुपर्ने भन्दै प्रहरी कार्यालय घेराउ गरेका छन्। केहि शिक्षकहरुले समेत शिक्षकलाई अपराधी जस्तो पक्राउ गर्नु गलत भन्दै चरित्रको ख्याल गरी अनुसन्धान गर्न अनुरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने अभिभावकको जाहेरीमा अंगभंग गर्न नहुने कसुर अन्तरगत मुद्दा दर्ता गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले बताउनु भयो । साथै जिल्ला अदालतबाट निज शिक्षकमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ ।