विश्वभर एकैदिन १४ हजार ७ सय ४४ संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७७ पुष १६ बिहीबार

विश्वभर एकैदिन १४ हजार ७ सय ४४ संक्रमितको मृत्यु

काठमाडौँ पुष १६ । कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको संक्रमण विश्वका २ सय १८ मुलुकमा फैलिरहँदा मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको हो । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७ सय ४४ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७ सय ६३ संक्रमितको मृत्यु भएको छ । यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ ।उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७ सय ७८ जनाको मृत्यु भइसकेको छ । यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९१ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ हजार ७ सय ९६, अफ्रिकामा ७ सय १ र ओसिनियामा पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४ सय ३० पुगेको हो । यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना  संक्रमणमुक्त भएका छन् ।