प्रदेश ७ : दैवि प्रकोपका घटनामा ४ महिनामा २९ जनाको मृत्यु

६ बर्ष अघि

२0७५ श्रावण १९ शनिबार

प्रदेश ७ : दैवि प्रकोपका घटनामा ४ महिनामा २९ जनाको मृत्यु

दृष्टीकाेण समाचार,साउन १९ । प्रदेश ७ मा विभिन्न दैवि प्रकोपका घटनामा परि २९ जनाको ज्यान गएको छ।विगत ४ महिनामा यस प्रदेशका ९ जिल्लामा दैवि प्रकोपका घटनामा परि २९ जनाको ज्यान गुमाएका हुन्। यस अवधिमा अन्य ६ जना घाइते तथा २२ जना बेपत्ता भएको जनाइएको छ।

पहिरोमा ६ जना, बाढीमा ८ जना, हावाहुरीमा २, डुवेर १२ र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ। प्रदेशमा विपदमा परी ज्यान गुमाउने र घाइते हुनेमा महिलाको संख्या अधिक रहेको छ। प्रदेशभर १६ महिला र १३ पुरुषको मृत्यु भएको छ भने १२ महिला र १० पुरुष घाइते भएका केन्द्रले जनाएको छ।

भारी वर्षासँगै बाढी, पहिरो, डुबान, हावाहुरी, भारी वर्षा लगायतमा परी ३ सय ३९ जना प्रभावित भएको, २ सय ५२ घरमा आंशिक र १४ घरमा पूर्ण क्षति हुनुका साथै ६ गोठ, ४१ पशुचौपायामा क्षति पुगेको तथ्यांकमा उल्लेख छ। दैवि प्रकोपबाट प्रदेशमा २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको उल्लेख छ। मृत्यु हुनेको संख्या बझाङमा बढी केन्द्रका अनुसार यो अवधिमा बझाङमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। बझाङमा ८ पुरुष र ६ महिला गरि १४ जनाले ज्यान गुमाएका छन् भने अन्य २ जना घाइते भएका छन्।यसैगरी कैलालीमा ७ महिला र १ पुरुष गरी ८ जनाको मृत्यु, २ पुरुष र १ महिला गरी ३ जना बेपत्ता भएका छन्। कञ्चनपुरमा २ पुरुष र ३ महिला गरी ५ जना तथा बैतडी र दार्चुलामा एक÷एक पुरुषको मृत्यु भएको छ। प्रदेश ७ अन्तर्गत बाजुरा र अछाममा मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको केन्द्रले जनाएको छ।

बाजुरामा २ लाख ९ हजार र अछाममा १० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रदेश सरकार भन्छ– मृत्यु हुनेको संख्या १८ मात्रै प्रदेश सरकारले भने प्रदेशभर ४ महिनामा १८ जनाको मात्रै मृत्यु भएको जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो चार महिनाको अवधिमा प्रदेशमा बाढी तथा पहिरोका कारण कैलाली, कञ्चनपुर, बझाङ, डोटी र दार्चुलामा गरि १८ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोका घटनामा अन्य २ जनाको अवस्था अझै अज्ञात रहेको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार दैवि प्रकोपबाट बझाङमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ। बझाङमा पहिरोमा ७ र बाढीबाट ६ जनाको मृत्यु भएको छ। बझाङमा नदीमा बगेका दुई जनाको अवस्था अझै अज्ञात छ। त्यस्तै, कैलालीमा नदीमा डुबेर २ जना, कञ्चनपुरमा बाढीबाट एक जना, दार्चुलामा चट्याङ लागेर एक जना र ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको बताइएको छ।