वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

३ बर्ष अघि

२0७७ पुष ११ शनिबार

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

काठमाडौँ पुष ११ । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहेका थिए । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए । रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन् । ‘रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ’, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ । प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । राखेपबाट एनआइस कोर्स गरेका रिमाल उत्कृष्ट भएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए । उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गरेका थिए । रिमालले २०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गरेका थिए । श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए ।  सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । समाचारखबर हब बाट