दार्चुलाको मार्मा गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७७ पुष १0 शुक्रबार

दार्चुलाको मार्मा गाउँपालिकामा  पाँच जनामा कोरोना संक्रमण पुष्टि

पृथ्वीराज सुनाम पुष १० दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ का ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष ७ गते स्वाब संकलन गरिएकाहरुमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विहीबार प्राप्त नतिजा अनुसार मार्मा गाउँपालिकाका एक जना महिला सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भयो । यो संगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८ पुगेको छ । अपिहिमाल गाउँपालिकाका एक जना, लेकम गाउँपालिकामा २ जना र विहीबार मात्रै संक्रमण पुष्टि भएका मार्मा गाउँपालिकाका पाँच जना गरी जम्मा ८ जना रहेको सूचना अधिकारी कार्कीले बताउनु भयो । मार्मामा कोरोना संक्रमण देखिएपछि शिल गर्ने तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चक्रसिंह धामीले जनाएका छन्। विभिन्न विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको छ भने अपि हाइड्रोपावरमा काम गर्ने केही स्थानीयहरुमा कोरोना संक्रमण देखिएको छ । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय पनि बन्द गरिएका छन् भने संक्रमण देखिएका अन्य क्षेत्र पनि शिल गर्ने तयारी भएको छ ।