नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

६ बर्ष अघि

२0७५ श्रावण १९ शनिबार

नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

दृष्टीकाेण समाचार,साउन १८ काठमाण्डाैँ । अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । 
थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।  प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ । 
थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकूदमा भाग लिने २० सदस्यीय नेपाली यू–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकूदको फूटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ । 
एसियाली खेलकूदमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन् । मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए । 
एसियाली खेलमा २३ वर्षमुनिका खेलाडीसहित तीन सिनियर खेलाडी खेल्न पाउने छन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ । 
नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । 
मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् । 
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपाली फूटबल टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । 
सो अवसमा उहाँले खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । उहाँले एसियाली खेलकूद प्रतियोगिता आगामी वर्ष नेपालमा हुने १३ औँ साफ गेम्सको तयारीका रुपमा रहेकाले यो सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे ।