डोटीका सबै विद्यालयमा पठनपाठन शुरु

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु

डोटी पुष ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माविले जनाएको छ । विद्यालय सञ्चालन भएसँगै यहाँका विद्यालयमा पढाइसमेत सञ्चालन हुँदै आएको छ ।  कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले  जनाएका छन्। विद्यार्थीको शैक्षिक सत्र सकिनलाग्दासमेत विद्यालय नखुलेको तथा यो वर्षको शैक्षिक सत्र खेर जाने अवस्था आएका कारण कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सुरक्षा नीति अपनाएर विद्यालय सञ्चालन भइरहेको जोरायल गाउँपालिका शिक्षा विकास अधिकृत तेजबहादुर खत्रीले जनाएका छन् ।  विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गरी खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन भइरहेको घण्टेश्वर मावि जोरायलका प्राचार्य सुनलाल थापाको भनाई छ । उक्त निर्देशिकामा स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्य पूर्णरूपमा पालना गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था एवं विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्नुपर्ने उल्लेख गरिएको छ ।