कतारमा पनि कोरोनाको खोप लगाउन सुरु

३ बर्ष अघि

२0७७ पुष ९ बिहीबार

कतारमा पनि कोरोनाको खोप लगाउन सुरु

दोहा पुष ९ । कतारमा पनि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप कतार युनिभर्सिटीका पूर्व निर्देशक ७९ वर्षीय डा। अब्दुल्लाह अल कुबैसीले अल वजबा स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा। अब्दुल्लातीफ अल खलले जनाएका छन् । पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ । यसैगरी १६ वर्ष वा माथि उमेरका गम्भीर र दीर्घकालीन रोगहरू भएका व्यक्तिहरू, र प्राथमिकता दीर्घकालीन रोगहरू भएका वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ। सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रमार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रबाट खोप लिन सकिनेछ । यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएसमार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निस्शुल्क रुपमा उपलब्ध गराउने जनाएको छ।