काठमाडौं ९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना रहेको छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्ने एकीन कांग्रेसले गरेको छैन । प्रदर्शन सुरु गर्ने मिति आजको बैठकबाट तय हुने सम्भावना रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्र मतभेद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।