दार्चुलामा पनि संसद् विघटनविरुद्ध विरोध

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

दार्चुलामा पनि संसद् विघटनविरुद्ध विरोध

पृथ्वीराज सुनाम पुष ६ दार्चुला  ।  संसद् विघटनविरुद्ध दार्चुलामा पनि विरोध गरिएको छ । सोमबार दिउँसो दार्चुला सदरमुकाम खलंगामा नेकपाकै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र वरिष्ठ नेता माधबकुमार नेपाल समर्थक युवा तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । संसद विघटन असंवैधानिक र गैरराजनीतिक भएको नेकपाको प्रचण्ड, नेपाल समुह सहित प्रतिपक्षी दलहरुले बताइरहेका छन् । दार्चुला सदरमुकाम खलंगामा भएको विरोध प्रदर्शनका क्रममा सर्बोच्च अदालतले संसद व्युताउनुपर्ने र असंवैधानिक कदम चालेको भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी सर्मा ओलीलाई कारवाही हुनुपर्ने नेताहरुले माग गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूलाई कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको दाबी गर्नुभएको छ । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम भएको परिणाम स्वरूप आफूले नयाँ कदम चालेको ओलीको भनाइ छ । सरकारले राम्रा काम गर्दा गर्दै पनि षड्यन्त्रका जाल बुनेर खेद्ने प्रयास भएकोप्रति ओलीले आपत्ति जनाउनुभएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध देशभरी विरोध प्रदर्शन भइरहेको छ ।