बैतडीको झुलाघाट नाकामा आवतजावत खुकुलो

३ बर्ष अघि

२0७७ पुष ६ सोमबार

बैतडीको झुलाघाट नाकामा आवतजावत खुकुलो

बैतडी पुष ६ ।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको छ । आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । “जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित उपजिल्ला अधिकारीको कार्यालयबीचको सहमतिमा आवतजावतमा खुकुलो बनाइएको छ । “आकस्मिक काम परेका व्यक्ति, बिरामी, भारतीय कर्मचारी, भारतीय सेनाका जागीरेलाई आवतजावत गर्न दिइने सहायक प्रमुुख जिल्ला अधिकारी  नेगीले बताउनु भएको  छ । भारतमा मजदुरी गर्नका लागि जानेहरुका लागि भने अहिलेलाई भारतको तर्फबाट अनुमति दिइएको छैन ।” नेपालको तर्फबाट मजदुर पनि जान दिइएको भए पनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारत सरकारले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ ।मजदुरीका लागि भारत जानेलाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ ।