संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौँ पुष ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो । बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलले जनाएको छ । प्रमुख सचेतक खाँडले राष्ट्रपतिको प्रमुख दायित्व संविधानको पालना र रक्षा गर्नु भएकाले सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल भए सच्याउन राष्ट्रपतिको भुमिका हुने भएपनि राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्न असफल भएको बताए । विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको गणपूरक संख्या नपुग्ने भएकाले अन्य दलको पनि साथ र सहयोगको आवश्यक पर्ने भएकाले अन्य दलसँग छलफल भइरहेको उनले बताए । कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर छ । त्यस्तै कांग्रेसले उखु किसानको आन्दोलनलाई समर्थन गर्ने भन्दै उखु किसानका मागप्रति सरकार गम्भिर भएर तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरेको छ । बैठकले मोरङमा भएको शिक्षक हत्याका घटनाको निन्दा गर्ने र हत्यारालाई कानुनी कारबाही गर्न माग गरेको छ ।