टिकापुर घटना उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ बर्ष अघि

२0७७ पुष ३ शुक्रबार

टिकापुर घटना  उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौ पौष ३ ।  पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए । उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको उच्च अदालतका रजिष्ट्रार सिता रेग्मीले जानकारी दिइन् । जन्मकैदको सजाय हुनेमा लक्ष्मणसहित रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश परषुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद २० वर्ष को फैसला सुनाएको थियो । हत्यामा संलग्न भनिएका श्रवण चौधरी नाबालक भएकाले उनलाई भने आधा कैद अथवा १० वर्ष मात्रै कैदको फैसला भएको थियो । लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तकुमार चौधरी, विश्राम भनिने जीत बहादुर डँगौरा, प्रेम बहाखुर चौधरी, किसनलाल चौधरी, रामप्रसाद चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी र चुन्नीराम चौधरीलाई तीन वर्षको कैद सजाय भएको थियो । २०७२ साल भदौ ७ गते टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेको भन्दै जन्मकैदको सजाय पाएका रेशम चौधरी सहितका ११ जनाले उच्च अदालत दिपायलमा २०७६ सालको वैशाखमा पुनरावेदन परेको थियो । प्रतिवादी रेशमलाल चौधरी सहितको तर्फबाट अधिवक्ता गम्भीर सिँह ऐर, गजेन्द्र बहादुर केसी, गंगाराम पाध्याय, नाथुराम महतो र काठमाण्डौंबाट आएका २ जना गरी ६ जना अधिवक्ताले बहस गरेका थिए । मुद्दामा वादीको तर्फबाट वरिष्ठ अघिवक्ता राजेन्द्र सिँह साउद, अधिवक्ता विष्णु भट्ट, सरकारी वकिल टेकबहादुर थापा सहितका तीन जना गरी पाँच जनाले बहस गरेका थिए ।अनलाइन खबरबाट