पीएम कप छनौटः अछाम फाइनलमा पुग्यो, मंगलवार बैतडी र बझाङ भिड्दै

३ बर्ष अघि

२0७७ मंसिर ३0 मंगलवार

पीएम कप छनौटः अछाम फाइनलमा पुग्यो, मंगलवार बैतडी र बझाङ भिड्दै

महेन्द्रनगर मंसिर ३०  । प्रधानमन्त्री कप पीएम एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौटको फाइनलमा अछामले आफनो स्थान सुरक्षित गरेको छ । रनरेटका आधारमा डडेल्धुरा र कञ्चनपुरलाई पछि पार्दै अछाम फाइनलमा प्रवेश गरेको हो । समूह बी मा रहेका अछामसहित, डडेल्धुरा र कञ्चनपुरले समान २÷२ खेल जितेको स्कोरर निरञ्जन बोहराले जानकारी दिए । कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्च मैदानमा सोमवार भएको खेलमा अछामले डडेल्धुरालाई २ विकेटले हराएको थियो । डडेल्धुराले दिएको १ सय ६९ रनको लक्ष्य अछामले सुरज तिरुवाको ६० रनको मद्दतमा ८ विकेटको क्षतीमा पुरा गर्यो ।  डडेल्धुराका सन्तोस भट्टले ३ विकेट लिए । त्ससअघि पहिला व्याटिङ गरेको डडेल्धुरा १ सय ६८ रनमा समेटियो उसका लागि अरुण ऐरीले ४८ तथा सुरेन्द्र पन्तले नट आउट ४१ रन जोडेका थिए । अछामका अनिल कुँवरले ४ विकेट हात पारे । अर्धसतकीय पारी खेल्दै ६० रन हिर्काउने अछामका सुरज तिरुवा म्यान अफ द म्याच चुनिए । समूह ए का खेलहरु मंगलवार हुदै, बैतडी र बझाङ भिड्दै समूह ए का खेलहरु आजदेखि हुुदैछन् । समूह ए मा बैतडी, दार्चुला,बझाङ र कैलाली रहेका छन् । कञ्चनपुरस्थित कभर्डहल मैदानमा बैतडी र बझाङ खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा कैलाली र दार्चुला प्रतिस्पर्धा गर्ने स्कोरर बोहराले जानकारी दिए । समूह ए बाट फाइनल पुग्ने टोलीसंग अछामको उपाधि भिडन्त हुनेछ । फाइनल भिडन्त पुस ३ गते हुने जनाईएको छ । मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए ।