दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित

३ बर्ष अघि

२0७७ मंसिर २८ आईतवार

दक्षिण कोरियामा एकैदिन थपिए ९५० कोरोना संक्रमित

एजेन्सी मंसिर २८ ।  दक्षिण कोरियामा एकैदिन ९५० कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढेको छ । उनीहरुका अनुसार यसअघि दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेकोमा शनिबार ९५० संक्रमित थपिएका हुन् । कोरिया रोग नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ । विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताएका छन् । महामारी नियन्त्रणका लागि सरकारले सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको उनले जानकारी दिए । रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दूरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ । रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नुपर्ने लगायतका नियम पनि कडाइका साथ लागू गरिएको छ ।