मालपोत राजश्व संकलनमा गिरावट, लक्ष्य भेटीएन

६ बर्ष अघि

२0७५ श्रावण १५ मंगलवार

मालपोत राजश्व संकलनमा गिरावट, लक्ष्य भेटीएन

सुलोचना महता, साउन १५ दार्चुला । जिल्ला मालपोत कार्यालय दार्चुलाले आव २०७४÷७५ मा संकलन गर्नु पर्ने राजश्व रकम लक्ष्य भन्दा कम संकलन भएको छ । कार्यालयले आव ०७४÷७५ मा ८२ लाख ५४ हजार रुपैँया राजश्व संकलन गर्ने लक्ष्य तोकेकोमा आर्थिक वर्षको अन्त्य सम्म ५६ लाख ७२ हजार ६ सय २४ रुपैँया मात्र संकलन भएको हो । यो रकम तोकिएको लक्ष्यको केवल ६९ प्रतिसत मात्र हो ।
आर्थिक बर्ष २०७३÷७४ मा जिल्ला मालपोत कार्यालयले ५१ लाख ५८ हजार ५ सय ७४ रुपैँया राजश्व संकलन गरेको थियो । यसरी राजश्व संकलन तोकेको लक्ष्य बमोजिम नहुनुमा  खलंगा बजार क्षेत्रको जग्गाको सवैभन्दा बढी मुल्यांकन रहेको र २०७० सालमा महाकाली नदिमा आएको बाढीका कारण यो क्षेत्रमा जग्गा खरिद गर्ने कार्य न्यून रहेको तथा सरकारको नयाँ संरचना फेरिए सँगै स्थानयि तहको गठन तथा निर्वाचन पश्चात जिल्ला सदरमुकाम भन्दा पनि स्थानिय तहको सदरमुकाम तर्फ जग्गा खरिद विक्री बढनु रहेको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।  स्थानिय तहको सदरमुकाम क्षेत्रको जग्गाको खरिद विक्री कार्यमा बृद्ध भएता पनि उक्त क्षेत्रहरुको जग्गाको न्यूनतम मुल्याकन जिल्ला सदरमुकामको जग्गाको मूल्यांकन भन्दा अत्यन्तै न्यून रहेको हुँदा राजश्व संकलनमा गिरावट आएको मालपोत दार्चुलाका प्रमुख अमर सिह कुवँरले बताउनु भयो । 

मालपोत कार्यालयको आ.व. ०७४।७५ को वार्षिक कार्य प्रगति हेर्दा जग्गा प्रशासन तर्फ नामसारी गर्नेमा १ सय ६८ जना, दाखिला खारेज गर्नेमा ७ सय ६० जना र रजिष्टे«शन पारित गर्नेको संख्या ६ सय १६ जना रहेको छ । रजिष्ट्रेशन पारित संख्या मध्ये ग्रामिण क्षेत्रका ३ सय १२ तथा शहरी क्षेत्रका ३ सय ४ जना रहेको मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । 
मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ मा ७ लाख १८ हजार ४ सय ३२ रुपैँया राजश्वमा महिला, दलित, जनजाती, अपाङगलाई छुट दिएको छ । जसमध्ये महिला १ सय ७७ जना, दलित ३ जना, जनजाती ३ र अपाङ्गता भएका २ जना रहेका छन् ।  
यसबाहेक दार्चुला जिल्लामा मालपोत कार्यालयबाटै मुक्त हलिया पुर्नस्थापना कार्यक्रम पनि लागु भएको छ । नेपाल सरकारले २०६५ साल भाद्र २१ गतेका दिन हलिया मुक्तिको घोषणा गरेको हो । त्यसै अन्तरगत दार्चुला जिल्लामा प्रमाणिकरणमा रहेका ४ सय ५५ जना मुक्त हलियाहरुलाई पुर्नस्थापन कार्यक्रम अन्तरगत नेपाल सरकारले आर्थिक वर्ष ०७०।७१ देखि अनुदान दिदै आएको छ । हाल सम्म झन्डै ३५० मुक्त हलिया परिवार पुनस्थापन गरि सकेको र आव ०७५।७६ भित्र सम्पूर्ण हलियाहरुलाई पनःस्थापन गरि कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।
 यसै कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७४÷०७५ मा मालपोत कार्यालय दार्चुलाबाट घर निर्माण तर्फ ३१ जना र घर मर्मत तर्फ १ सय ७६ जनालाई अनुदान दिईएको छ । 
घर निर्माणका लागि ३ लाख २५ हजार र घर मर्मतका लागि १ लाख २५ हजार रुपँैँयाका दरले मुक्त हलिया परिवारलाई अनुदान रकम वितरण गरेको  जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।