दार्चुलाका ५ सहित देशभर तीन सय ९६ स्थानीय तहमा आज एक साथ अस्पताल शिलन्याश गरिदै

३ बर्ष अघि

२0७७ मंसिर १५ सोमबार

दार्चुलाका ५ सहित देशभर तीन सय ९६ स्थानीय तहमा आज एक साथ अस्पताल शिलन्याश गरिदै

दृष्टिकोण समाचार मंसिर १५ दार्चुला । नेपाल सरकारले सोमबार दार्चुलाका पाँच स्थानीय तह सहित देशभरीका ३ सय ९६ ओेटा स्थानीय तहमा अस्पताल शिलन्यस गर्ने भएको छ । सोमबार दार्चुलाको पाँच स्थानीय तह सहित देशभरीका ३ सय ९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलन्यास गरिने मन्त्रालयले जनाएको छ ।
दार्चुलाका थप पाँच स्थानीय तहमा १० शैय्याको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत जिल्लाका थप पाँच स्थानीय तहमा १० शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।दार्चुलाको मार्मा गाउँपालिका र ब्याँस गाउँपालिकामा यसअघि नै स्वास्थ्य संस्था स्तरोन्नती गरि १५ शैय्याको अस्पताल निर्माण गर्ने टुंगो लागिसकेको छ । थप अहिले बाँकी स्थानीय तहमा १० शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्य संस्था स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण गर्न लागिएको हो ।स्थानीय तहमा अस्पताल निर्माणका लागि मन्त्रालयले बजेट समेत विनियोजन गरेको छ । साउन २८ गतेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णय अनुसार बजेट विनियोजन गरेकोे मन्त्रालयका तथ्यांक अधिकृत खड्काले जानकारी दिनुभयो । पाँच शैय्याको अस्पताल निर्माणका लागि ७० लाख, १० शैय्याको अस्पताल निर्माणका लागि ८५ लाख र १५ शैय्याका लागि एक करोड बजेट विनियोजन गरेको छ ।दार्चुलामा मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका, दुहूँ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा १० शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो । सबै स्थानीय तहमा ८५ लाखका दरले बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।मालिकार्जुनको शंकरपुर पस्ती स्वास्थ्य चौकी, लेकमको रिठाचौपता स्वास्थ्य चौकी, अपिहिमालको खण्डेश्वरी स्वास्थ्य चौकी, नौगाडको खार स्वास्थ्य चौकी र दुहूँको धारी स्वास्थ्य चौकीमा १० शैय्याको अस्पताल निर्माण गरिने छ ।स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले असोज १८ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन सम्बन्धी पत्राचार गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १९ गते अस्पताल निर्माणका लागि छनौट भएका स्थानीय तहलाई पत्राचार गरेको लेखा अधिकृत उमेश्वर प्रसाद काफ्लेले बताउनु भयो । नेपाल सरकारको एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तरगत देशभरीका ३ सय ९६ ओटा स्थानीय तहमा ५, १० र १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो । दार्चुला जिल्लाका पाँच स्थानीय तहमा १० शैय्याको अस्पताल निर्माण गरिने छ । स्थानीय तहमा कति शेय्याको अस्पताल निर्माण गर्न लागिएको हो, सोही अनुसार बजेट विनियोजन गरिएको हो । मंसिर १५ गते एकसाथ अस्पतालको शिलन्यास गर्ने बारे मन्त्रालयले स्थानीय तहलाई पत्राचार समेत गरेको थियो । सोही अनुसार अस्पताल शिलन्यासको तयारी गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्दै सिंह धामीले बताउनु भयो ।यसअघि नेपाल सरकारले अस्पताल नभएको स्थानीय तहमा अस्थायी कोभिड अस्पताल समेत निर्माण गर्न १० लाख बजेट विनियोजन गरेकोे थियो । जिल्लाका सात स्थानीय तहमा कोभिड अस्पतालको निर्माणका लागि नेपाल सरकारले बजेट उपलब्ध गराएको छ । यस्तै जिल्लाका तीन स्थानीय तहले भने कोभिड अस्पतालको उद्घाटन समेत गरिसकेका छन् ।