शैल्यशिखर धाममा आज पुजन जात्रा,

३ बर्ष अघि

२0७७ मंसिर १३ शनिबार

शैल्यशिखर धाममा आज पुजन जात्रा,

दृष्टिकोण समाचार मंसिर १३ दार्चुला । देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मालिकार्जुनको बासस्थान रहेको शिखरमा जिल्लाको सबै भन्दा ठूलो पुजन जात्रा आज लागेको छ । गत वर्ष नेपाल सरकारले छनोट गरेको देशभरीका एक सय पर्यटकिय गन्तब्यमा पर्न सफल, दार्चुला जिल्लाको प्रमुख धार्मीक पर्यटकीय तिर्थस्थल शैल्यशिखर मालिकार्जुन धाममा आज त्रयोदशीको दिन पुजन जात्रा लागेको मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिह धामीले जानकारी दिनुभयो ।लेकम क्षेत्रको मालीकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ । यो वर्ष मालामासका कारण जात्राहरु एक महिना ढिलो भएपछि मंसिरमा पुजन जात्रा लागेको हो ।हिन्दू धर्माबलम्बिहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहीत महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनबिस्वास छ ।शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागि हुनकोलागी दार्चुलाको बिभिन्न क्षेत्र, सुदूरपहाडका बिभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन दर्शनार्थीहरु आजकै दिनदेखि आउने भएपनि यो वर्ष कोरोना भाइरसको प्रभावका कारण विगत वर्षहरुको तुलनामा भक्तजनहरुको उपस्थितिमा कमि आउने अनुमान गरिएको छ ।