छोटी भन्सार दार्चुलाले आठ महिनामा उठायो ४० हजार राजश्व

३ बर्ष अघि

२0७७ मंसिर ११ बिहीबार

छोटी भन्सार दार्चुलाले आठ महिनामा उठायो ४० हजार राजश्व

दृष्टिकोण समाचार मंसिर ११ दार्चुला ।  छोटी भन्सार कार्यालय दार्चुलाले विगत आठ महिनामा रु ४० हजार मात्र राजश्व सङ्कलन गरेको छ । गत चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दीसँगै नेपाल– भारत सीमा बन्द भएको र त्यस अवधिमा तीन दिन मात्र भन्सार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।कार्यालयका कर्मचारी मोहन डोबालका अनुसार विगत आठ महिना तीन दिन मात्रै आर्थिक कारोबार भएको छ । यस अवधिमा भारतबाट आयात भएका समानबाट रु ४० हजार राजश्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सिमावर्ती भारतीय प्रशासनको समन्वयमा पुल खुलाएपछि तीन दिन राजश्व सङ्कलन भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्तामा दुई दिन सीमा पुल खुलाउने निर्णय गरेसँगै भन्सारको राजश्व पनि उठ्न थालेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुलाउँदा रु तीन हजार २ सय १७ राजश्व सङ्कलन भएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । सोमबार नेपाल भारत जोड्ने झोलङ्गे पुल बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दा रु ३५ हजार बढी राजश्व सङ्कलन भएको थियो । छोटी भन्सार कार्यालय दार्चुला भारतसँगको व्यापारमा निर्भर छ । भारतबाट आयात हुने सामग्रीबाट भन्सारले राजश्व उठाउँदै आएको छ । यस अवधिमा चिनी, सख्खर, तेल, प्याज र खाद्यान्न वस्तु नेपालमा आयात भएको छ । विगतमा मासिक एक लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गर्दै आइरहेको छोटी भन्सार कार्यालय दार्चुलाले बन्दाबन्दीदेखि राजश्व उठाउन सकेको थिएन ।